Friday, November 27, 2015

नयाँ शक्ति निर्माण अभियान - डा. बाबुराम भट्टराई

के तपाईं आफ्नै जीवनकालमा नेपाल विकसित र समृद्ध भएको देख्न चाहनुहुन्छ ? के युद्ध र हिंसा, विकासे संसार र गरिबी, बढ्दो बेरोजगारी र गतिहीन सरकार, खस्कँदो पर्यावरण र बाध्यकारी विदेश पलायनबाट मुक्त हुन चाहनुहुन्छ ? के देशमा विद्यमान निरन्तर अशान्ति र अस्थीरतालाई दीगो शान्ति र स्थीरतामा रुपान्तरण गर्न चाहनुहुन्छ ? के तपाईं समावेशी विकास र रोजगारीसहितको आर्थिक वृद्धि चाहनुहुन्छ ? के तपाईं राजनीतिलाई निजी स्वार्थको फोहरी खेलबाट राष्ट्रसेवाको पवित्र कर्ममा बदल्न चाहनुहुन्छ ? के यी प्रश्नहरुलाई निकास दिने व्यवहारिक अभियानमा सहभागी हुने चाहना छ ? यदि यी प्रश्नका दीर्घकालीन हल गर्ने आकांक्षा र चाहना छ भने नयाँ शक्ति निर्माण अभियानको चालक शक्ति बन्नोस् । त्यस्तो नयाँ शक्ति जसले अग्रगामी परिवर्तनलाई गति दिन्छ र राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्दै समाजवादी रुपान्तरणको लागि स्थायी जग बसाउँछ । हामी सबैले, मूलत: युवा समुदायले, निर्णायक भूमिका खेल्दै स्वाधीन, समावेशी र समृद्ध राष्ट्र बनाउने संकल्प गरौं ।
१. नयाँ शक्ति नै किन ?
जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन लगायत सत्तरी वर्षको लामो संघर्षपछि हामीले लोकतान्त्रिक क्रान्ति मूलत: पूरा गरेका छौं । अबको पालो आर्थिक क्रान्तिको हो । तर हालका राजनीतिक दलहरु र उनीहरुको नेतृत्व वा गठबन्धनमा बन्ने सरकारले राजनीतिलाई जनसेवी बनाउने र तीब्र आर्थिक क्रान्ति गर्ने कुनै सम्भावना छैन । राजनीति जनसेवी नहुने वित्तिकै राज्यका स्थायी संरचना समावेशी, सहभागीतामूलक, र जनताप्रति जवाफदेही रहने सम्भावना हुन्न । त्यसको अभावमा समावेशी विकास सम्भव हुँदैन । यस्तो स्थायी संकटबाट निस्कन नेपाली राजनीतिमा नयाँ शक्तिको ऐतिहासिक आवश्यकता खट्किएको छ । नयाँ शक्तिले मात्र राजनीतिलाई जनसेवी बनाउँदै समावेशी विकासको बाटो खोल्न सक्छ । नयाँ शक्तिले मात्र नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सही गति दिन सक्छ । नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व र नयाँ कार्यशैली सहितको नयाँ शक्तिले मात्र नयाँ युगको नयाँ कार्यभार पूरा गर्न सक्छ ।
२. नयाँ शक्तिको वैचारिक आधार के ?

भौतिक जगतलाई प्रधान मान्ने र संसारका सबै बस्तुलाई निरन्तर गतिशीलता र परिवर्तनशीलतामा बुझ्ने द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनप्रणाली नयाँ शक्तिको मुख्य वैचारिक आधार हो । चलन–चल्तीको माक्र्सवादी प्रणालीलाई परिष्कृत गर्दै नेपाली परिवेश, सामाजिक विविधता र ऐतिहासिक आवश्यकता अनुसार प्रयोग र विकास गर्न जरुरी छ । नयाँ शक्तिले त्यसैको आधारमा वैकल्पिक आर्थिक ढाँचाका विकल्पहरु पहिल्याउने छ, जसले श्रम र पुँजीको सम्मान गर्ने विधि र पद्धतिको विकास गर्छ । नयाँ शक्तिले समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रलाई अभ्यास र प्रवद्र्धन गर्नेछ ।
३. नयाँ शक्तिको राजनीतिक कार्यदिशा के ?
प्रारम्भमा सामाजिक न्याय सहितको राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्दै समुन्नत समाजवादको निर्माण गर्नु नयाँ शक्तिको मुख्य राजनीतिक कार्यदिशा हो । सडक, सदन र सरकारका मोर्चाबाट आवश्यक गतिविधि/संघर्ष मार्फत सो लक्ष्य प्राप्त गर्ने प्रयत्न हुनेछ । व्यापक सार्वजनिक बहस र नेपालको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा राजनीतिक कार्यदिशाको टुंगो लगाइनेछ ।
४. नयाँ शक्तिको जनआधार के ?
वृहद् श्रमजीवी समुदायको आधारभूत सरोकार, उदीयमान मध्यम वर्गको आकांक्षा र राष्ट्रिय पुँजीपति वर्गको जायज हितको सम्बोधनमा नयाँ शक्तिको जनआधार टिकेको छ । श्रम र पुँजीको आवश्यक संयोजन गर्दै दुबै पक्षलाई सम्मान गर्ने अभ्यासले नयाँ शक्तिको जनआधारलाई नयाँ उचाई प्रदान गर्छ । साथै जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य लगायतका अन्य विभेद र उत्पीडनमा परेका समुदाय नयाँ शक्तिका महत्वपूर्ण आधार हुनेछन् ।
५. नयाँ शक्तिको संगठनात्मक संरचना कस्तो ?
पुराना शक्तिको संगठन अति–केन्द्रिकृत र व्यक्तिवादी भएकोले राजनीतिक जनसरोकारका आवश्यकता र आकांक्षादेखि विमुख भयो । एउटै संगठनमा समेत शीर्ष नेतृत्व र तल्लो तप्काका कार्यकर्ता एकअर्काबाट विमुख भए । विगतका गल्ती र कमी–कमजोरीबाट सिक्दै नयाँ शक्ति निर्माण अभियानले शुरुदेखि नै नयाँ संगठनात्मक संरचना बनाउने छ । सो अभियानले त्यस्तो पद्धतिको विकास गर्नेछ जसले अति–केन्द्रीकरणलाई नकारोस्, सामुहिक नेतृत्व विकास हुने आधार तय गरोस् र नेता–कार्यकर्ता–जनताबीचको दूरीलाई ऊँच–नीचको कसीबाट नहेरोस् । मूलत: आन्तरिक लोकतन्त्रलाई प्रवद्र्धन गर्ने र फरक मतलाई संस्थागत रुपमा सम्बोधन गर्ने संगठनात्मक विधिले महत्व पाउनेछ । संगठनका सबै तहमा श्रमिक वर्ग, उत्पीडित जाति/क्षेत्र, महिला, दलितको समावेशी समानुपातिक प्रतिनिधित्वमा जोड दिइनेछ ।
६. नयाँ शक्तिको नेतृत्व प्रणाली कस्तो ?
नयाँ शक्तिको गठन प्रक्रिया नै पृथक भएकोले नेतृत्व विकास गर्ने भिन्न आधार शुरुदेखि नै रहने छ । सबै तहको नेतृत्व खुला निर्वाचनबाट चयन गरिनेछ । शीर्ष नेतृत्वले दुई कार्यकालसम्म मात्र संगठनको नेतृत्व गर्नेछ । सो अवधिमा सामुदायिक नेतृत्वको विकास र प्रवद्र्धन गरिने छ जसले नेतृत्व हस्तान्तरणलाई संस्थागत गर्न सहज हुनेछ । निर्वाचित नेतृत्वले गलत आचरण गरेमा उसलाई फिर्ता बोलाउने प्रणाली सुनिश्चित गरिनेछ ।
७. नयाँ शक्तिमा युवाको भूमिका के हुने ?
नयाँ शक्तिको चालकशक्ति नै युवा समूह हुनेछ । यसको निर्माण प्रक्रियादेखि नै युवाहरु अत्यधिक मात्रामा र नीति निर्माणमा निर्णायक भूमिकामा हुनेछन् । केन्द्रदेखि तलसम्मका सबै कमिटीहरुमा समावेशी समानुपातिक आधारमा युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
८. नयाँ शक्तिको कार्यशैली कस्तो ?
नयाँ शक्ति निर्माण अभियान आफैंमा नयाँ प्रयोग हो । यसले शुरुदेखि नै सबै प्रक्रियामा व्यापक सहभागितामा जोड दिँदै आएको छ । प्रारम्भिक चरणदेखि नै आर्थिक कारोवार र निर्णय पद्धतिलाई समेत पारदर्शी राखिनेछ । नयाँ विचार र नयाँ विकल्पको खोजी गर्ने क्रममा नयाँ शक्तिले विधिको शासन र जवाफदेही कार्यशैलीलाई संस्थागत गर्नेछ । समतामूलक र उन्नत सँस्कृतिलाई प्रवद्र्धन गरिनेछ । भ्रष्टाचारजन्य गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिनेछ । सबैको सम्पत्ति विवरण आवधिक र पारदर्शी बनाइनेछ । नयाँ शक्तिले राजनीतिलाई व्यवसाय होइन स्वेच्छिक सेवाको रुपमा स्थापित गर्नेछ ।
९. नयाँ शक्ति जनताको दैनिकीसँग कसरी जोडिन्छ ?
पुराना शक्तिहरु आम जनताको जीवनका दैनिकीदेखि धेरै विमुख छन् । नयाँ शक्तिले निरन्तर जनतासँग जोडिने र उनीहरुका रोजगारी, शिक्षा, स्वास्थ्य, गास, बास र कपासको आधारभूत आवश्यकतालाई हल गर्ने जनमुखी राजनीति गर्नेछ । जनता र राज्यका अंगहरुको बीचमा नयाँ शक्तिले पुलको काम गर्नेछ । स्वेच्छिक श्रम परिचालन गरेर स्थानीय विकास–निर्माण र सामाजिक/साँस्कृतिक रुपान्तरण अभियान सञ्चालन गर्नेछ ।
१०. नयाँ शक्तिको कार्यकर्ता व्यवस्थापन कसरी हुन्छ ?
नयाँ शक्ति एउटा पार्टी मात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि हो, जसका लागि लाखौं स्वयंसेवी नेता/कार्यकर्ताहरुको अविरल प्रवाह आवश्यकता पर्दछ । पुरानो शक्तिमा झैं नयाँ शक्तिमा नेता र कार्यकर्ताबीच श्रेणीगत विभेद हुनेछैन, खालि श्रमविभाजन मात्र हुनेछ । साथै पुरानो शक्तिमा झैं ‘जागिरे’ र ‘व्यवसायी’ मानसिकता नभएर स्वयंसेवी चरित्र र भाव हुनेछ । त्यसैले केही पूर्णकालीन नेता/कार्यकता बाहेक अधिकांश नेता/कार्यकर्ता अंशकालीन स्वयंसेवक हुनेछन्, जो उत्पादन कार्य वा व्यवसायमा जोडिएका हुन्छन् । अत: नयाँ शक्तिले नेता/कार्यकर्ता व्यवस्थापनको खुला र पारदर्शी विशिष्ट नीति तय गर्नुपर्दछ ।
११. शहीद तथा वेपत्ताका परिवार र घाइतेबारे के हुन्छ ?
यो नयाँ युग परिवर्तन विगतको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन लगायत विभिन्न आन्दोलनको योगफल स्वरुप भएकाले ती सबै आन्दोलनका शहीद तथा वेपत्ताका परिवार र घाइतेहरुको व्यवस्थापन र सुरक्षाको नैतिक जिम्मेवारी नयाँ शक्तिले लिनुपर्छ र त्यसका निम्ति पार्टी र मूलत: राज्यबाट लागू गर्ने गरी विशेष योजना/कार्यक्रम बनाउनुपर्दछ ।
१२. नयाँ शक्तिको आर्थिक विकासको ढाँचा कस्तो ?
नयाँ शक्तिले विज्ञहरु र निजी क्षेत्र समेतको सहभागितामा तत्कालीन, अल्पकालीन र दीर्घकालीन आर्थिक विकासको योजना निर्माण गरी सार्वजनिक गर्नेछ । अर्थतन्त्रको वैकल्पिक आधारहरु निर्माण गर्दा रोजगारीसहितको आर्थिक वृद्धि र समावेशी विकासलाई अर्थतन्त्रको मेरुदण्ड बनाउनेछ । नयाँ शक्तिको आर्थिक ढाँचाले पुनर्वितरणसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्नेछ । युवा वेरोजगारीको अन्त्यलाई उच्चतम प्राथमिकता दिइनेछ । नयाँ आर्थिक ढाँचा पर्यावरणमैत्री समेत हुनेछ । विदेशी परनिर्भरताको अन्त्य गर्न तुलनात्मक लाभका क्षेत्रहरु (जलस्रोत, पर्यटन, कृषि इत्यादी) को विकास गरी अन्तरनिर्भर अर्थतन्त्र निर्माण गरिनेछ । चीन र भारत जस्ता ठूला अर्थतन्त्र र बजारको समुचित लाभ लिने गरी लगानी, व्यापार र विकास नीति तय गरिनेछ ।
१३. राष्ट्रियताबारे नयाँ शक्ति के भन्छ ?
नयाँ शक्तिले खोक्रो नक्कली राष्ट्रवाद होइन प्रगतिशील राष्ट्रियताको पक्षपोषण गर्छ । त्यसका निम्ति नेपाललाई दुई ठूला छिमेकी चीन र भारतबीच ‘दुई ढुंगाबीचको तरुल’ होइन ‘गतिशील पुल’ बनाउने नीति लिनुपर्छ । साथै देशभित्रको आन्तरिक राष्ट्रिय एकता बलियो पार्ने र आर्थिक रुपले समृद्ध बनेर विदेशी परनिर्भरता र प्रभुत्व अन्त्य गर्ने नीति अनुसरण गर्नुपर्छ । सबै देशसँग पञ्चशीलको आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गरेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्छ ।
१४. नयाँ शक्ति कसरी बन्छ ?
नयाँ शक्ति बन्ने प्रक्रिया पनि ‘नयाँ’ हुनुपर्दछ र हुन्छ । नयाँ शक्ति हिजोका पुरानै शक्तिको परिवर्तित रुप वा त्यसको एउटा टुक्रा नभएर विभिन्न पृष्ठभूमिबाट आएका तर एउटै नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन र नयाँ शैलीमा आवद्ध व्यक्तिहरुको संगठित रुप हो । त्यसैले यसमा पुराना शक्तिहरुबाट आएका र कुनै पनि शक्ति वा संगठनमा नलागेका व्यक्तिहरु र विशेषत: युवाहरुको संलग्नता हुन्छ । यसैलाई दृष्टिगत गर्दै र सहभागितामूलक ढंगले नयाँ शक्ति निर्माण गर्ने नयाँ प्रक्रिया अपनाउँदै शुरुमा केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म व्यापक अभियान र बहस चलाएर निश्चित अवधिपछि नयाँ शक्तिलाई राजनीतिक पार्टीको रुपमा संस्थागत गरिनेछ ।
१५. तपाईंले के गर्न सक्नुहुन्छ ?
तपाईंको हातमा यतिबेला इतिहासको अत्यन्त ठूलो जिम्मेवारी छ । एक्काइसौं शताब्दीमा पनि विकासको पिँधमा रहेको नेपाललाई केही दशकभित्र विकास र समृद्धिको कमसेकम विद्यमान औसत अन्तर्राष्ट्रिय स्तरमा पुर्याेएर समुन्नत समाजवादको दिशामा अघि बढाउने गौरवशाली जिम्मा तपाईं हाम्रो हातमा छ । त्यसैले आउनोस्, यो नयाँ शक्ति निर्माण अभियानमा सक्रिय सहभागी बनौं ! घरघरमा, टोलटोलमा, गाउँमा, शहरमा, क्याम्पसमा, फ्याक्ट्रीमा, कार्यालयमा, देशमा र विदेशमा अर्थात हामी जहाँ–जहाँ छौं त्यहाँ नयाँ शक्तिबारे बहस छलफल गरौं, प्रचार गरौं, सुझाव दिऊँ, सदस्य बनौं, अभियन्ता बनौं ! समृद्ध नयाँ नेपाल आफ्नै जीवनकालमा निर्माण गरौं !

नाराहरु

१. नयाँ शक्ति अभियानमा सहभागी बनौं !
स्वाधीन, समृद्ध, समावेशी नयाँ नेपाल निर्माण गरौं !!

२. राष्ट्रिय औद्योगिक पुँजीको विकास गरौं !
समुन्नत समाजवादको आधार तयार गरौं !!

३. देशभक्ति सहितको नयाँ शक्ति !
आर्थिक समृद्धि मार्फत् जनताको मुक्ति !!

४. धेरै गर्यौंफ आन्दोलनमुखी राजनीति !
अब गरौं विकासमुखी राजनीति !!

५. नयाँ शक्तिको मूल मन्त्र !
समावेशी, समानुपातिक, सहभागितापूर्ण लोकतन्त्र !!

६. नयाँ शक्तिको मुख्य पहिचान !
पारदर्शीता–सदाचार–सुशासन !!

७. नयाँ युग, नयाँ पुस्ता, नयाँ शक्ति !
८. हामी बनाउँछौं समृद्ध नेपाल !
९. म नयाँ शक्ति, बनौं सबै नयाँ शक्ति !
१०. नयाँ शक्ति, नयाँ नेपाल !

– नयाँ शक्ति निर्माण अभियान


पत्रकार साथीहरु,
यतिबेला हाम्रो देश गम्भीर संकटबाट गुज्रिँदै छ । संविधान बनेपछि देशले नयाँ बाटो लिन्छ भन्ने आम नेपाली जनताको आकांक्षा निराशामा बदलिएको छ । झन्डै चार महिनाको मधेस–तराई, थारुहट/थारुवान, मगरात/तमुवान, किराँत/लिम्बु, नेवार/तामाङ्ग आदि लगायतका जाति र समुदायले चलाएको आन्दोलनले देशको अर्थतन्त्र एकपछि अर्को गरी संकटमा पर्दै गएको छ । आम जनताको दैनिकी र जीवनयापन भयावह हुँदै गइरहेको छ । झन्डै आधा जनसंख्या बसोवास गर्ने मधेस–तराई झनै आक्रान्त पीडामा गुज्रिरहेको छ । ५ दर्जन जति नेपाली सपुतहरुको सहादत भइसकेको छ । दिनहुँ वार्ताका प्रसंगहरु सार्वजनिक भएका छन्, तर कुनै पनि दिनको वार्ताले केही पनि निर्णय लिन सकेको छैन । शून्य निर्णयको परिणामविहीन “चिया वार्ता” सुन्दा–सुन्दा जनतासमेत वाक्क हुँदै गइरहेका छन् । राज्य पक्षको कुनै पनि गम्भीरता नभएकाले यस्तो हुँदै गएको घाम जत्तिकै छर्लङ्ग छ ।
आफ्नो देशका आन्तरिक समस्याहरु आफैंले हल गर्नेतिर जानुको सट्टा समस्याहरु अस्वाभाविक रुपमा अन्तर्राष्ट्रियकरण हुनु र कूटनीतिक सन्तुलन बिग्रँदै जानु हाम्रो देशको निम्ति राम्रो संकेत होइन । जुन रुपमा भए पनि भारतीय पक्षले भौतिक वस्तुहरुको आयातमा अवरोध गर्नु अन्तर्राष्ट्रिय ब्यापार तथा पारवहन सन्धि–सम्झौता विपरीत भएको प्रस्ट छ । तर पनि हाम्रो देशको वर्तमान सरकारले आन्दोलनको विषय र कूटनीतिक विषयलाई एउटै बनाएर गाँजेमाजे पार्दै देशभक्ति भावनालाई उत्ताउलो राष्ट्रवादमा घालमेल गरेर भ्रमित पार्ने कार्य गरिरहेको छ । हामी देशभक्ति भावना र राष्ट्रियतालाई अलग–अलग रुपमा बुझ्न आम नेपालीलाई अपील गर्दछौं ।
चलिरहेको आन्दोलन र भूकम्पबाट झन्डै १५ खर्व बराबरको नोक्सानी देशले व्यहोर्नु परेको छ । विगत वर्षको कार्तिक महिनाकै राजस्व संकलनको तुलनामा चालू वर्षमा ५० प्रतिशतको गिरावटले आर्थिक अवस्था झनै संकटमा परेको प्रस्ट नै छ । ५ प्रतिशतको दरले आर्थिक वृद्धिदर प्रक्षेपण गरिएकोमा त्यो घटेर झन्डै २ प्रतिशतमा झर्नुले अर्थ प्रणालीको गम्भीर गिरावटको प्रस्ट चित्र प्रस्तुत गर्दछ । महँगी, भ्रष्टाचार, कालोबजारी, अभाव र तस्करीजस्ता आर्थिक–सामाजिक विकृतिहरु विकराल बन्दै गइरहेका छन् । भूकम्पपछिको नवनिर्माणको राष्ट्रिय प्रतिबद्धता समेत योजनाविहीन हुँदा अन्तर्राष्ट्रिय दातृ राष्ट्र र पक्षहरु समेत बिच्किएकाले सरकारको अपरिपक्वता र गैरजिम्मेवारीपना छताछुल्ल भएको छ । दलित, महिला, मुस्लिम तथा अन्य कैयौं उत्पीडित पक्ष र समुदायका मागहरु समेत अलपत्र परेका छन् ।
यी तमाम समस्याहरुको समाधान गर्ने गरी विकल्प दिने शक्तिको आवश्यकता देशमा भएकोले हामीले झन्डै विगत दुई वर्षदेखि नयाँ शक्तिको आवश्यकता महसुस गरेका थियौं । त्यही आवश्यकतालाई पूरा गर्नका लागि “नयाँ शक्ति निर्माण अभियान”लाई औपचारिकता दिन विभिन्न पक्षहरुसँग बहस र छलफलमा सहभागी भइरहेको बेला विशेषत: पूर्व माओवादी आन्दोलनबाट यो अभियानमा सहभागी हुनेहरु उपस्थित भएको नयाँ शक्ति निर्माण अभियान उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको छ । यो कार्यक्रम देशका थुप्रै आदरणीय व्यक्तित्व र समूहहरुको संलग्नताले थप हौसला प्राप्त भएको सगौरव जानकारी गराउँदछौ र उहाँहरुप्रति हार्दिक आभार पनि प्रकट गर्दछौं ।
दुई दिनसम्म चलेको उक्त कार्यक्रमपछि यही मंसिर आठ गतेदेखि नै लागू हुने गरी पहिलो चरणमा २ महिने अभियान सञ्चालन गरिनेछ जसमा मुख्यतया प्रचारात्मक, संगठनात्मक र आन्दोलनसँग सम्बन्धित विषयहरु केन्द्रित गरिनेछ । अभियान सञ्चालनको व्यवस्थापनका लागि आवश्यक पर्ने गरी अभियन्ताहरुको प्रारम्भिक कार्यविभाजनसहित देशका सबै क्षेत्रहरुमा पुग्ने लक्ष्य राखिएको छ । साथै छलफलका वैचारिक, राजनीतिक र कार्यक्रमिक विषयको ब्यापक बहस शुरु गर्ने गरी तत्काल ९ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै दुईदिने “नयाँ शक्ति निर्माण अभियान” उद्घाटन समारोह सम्पन्न भएको जानकारी गराउँदछौं । साथै यो अभियानमा कुनै न कुनै रुपमा सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक अपिल गर्दछौं ।
तत्कालीन कार्यविभाजन
केन्द्रीय संयोजक – डा. बाबुराम भट्टराई
किराँत–लिम्बूवान–कोचिला संयोजक – राजेन्द्र किराती
मिथिला–भोजपुरा संयोजक – रामचन्द्र झा
नेवा:–ताम्सालिङ संयोजक – गंगा श्रेष्ठ
तमूवान–बाग्लुङ–म्याग्दी संयोजक – देवेन्द्र पराजुली
मगरात–अबध–थारुवान संयोजक – वामदेव क्षेत्री
भेरी–कर्णाली संयोजक – भक्तबहादुर साह
सेती–महाकाली संयोजक – नवराज सुवेदी
जबस–मोर्चा संयोजक – कुमार पौडेल
अन्तर्राष्ट्रिय संयोजक – हिसिला यमी
जातीय मोर्चा संयोजक – रामकुमार शर्मा
धन्यवाद सहित,

नयाँ शक्ति निर्माण अभियान
२०७२ मंसिर ८


http://esamata.com बाट साभार 

No comments:

Post a Comment