Wednesday, May 25, 2016

यसकारण मार्क्सवाद बुढो भएको छैन : आहुति

अतिरिक्त मुल्यको सिद्धान्तको थप परिभाषा गर्न आवश्यक

अाहुति
अाहुति
मार्क्सले एउटा मूलपद्धति विज्ञानलाई पक्रेर समाजको दिशा भनेको हो । मार्क्सवादको उत्पादकशक्तिहरुको विकासको जो सिद्धान्त छ, त्यो निर्णायक कुरा हो । चुरो कुरा हो । उत्पादक शक्तिहरुको विकासले समाजलाई कहाँ लान्छ त भन्ने कुरामा उहाँहरुले एउटा दिशानिर्देश गरेको कुरा हो । लेनिनले मरानसन्न पुँजीवाद भन्ने शब्दावली प्रयोग गर्नुभयो । हामीले यसलाई कसरी हेर्न जरुरी छ भने, लेनिनले भनेको त्यो कुरालाई १० वर्ष २० वर्ष ३० वर्षमा सबै कुरा निमिट्यान्न हुन्छ भनेर कसैले बुझ्यो भने त त्यो अलि बालापन हुन्छ । लेनिनले भनेको त्यहाँ भन्दा माथि पुँजीवादको विकास हुने ठाउँ चाँही अब करिव करिब छैन । अब चाँही यसले आफूलाई धान्न सक्दैन भनेको हो । अहिले लेनिनको युग अन्त्य भयो की भएन त भनेर हे¥यो भने त्यो वित्तिय युगमा प्रवेश गरेको छ ।
सञ्चारको असाधारण विकासलाई उसले टिकाउनको निम्ति प्रयोग गरेको छ । तर मूल पक्ष भनेको अहिले पनि साम्राज्यवादी नै छ । त्यसो भएको हुनाले हामी त समग्र शोषणमूलक समाजको समग्र ८ हजार वर्षको इतिहासलाई हेर्नुपर्ने हुन्छ । हामीले पुँजीवादको ४ सय वर्षको इतिहासलाई मात्रै हेरेर हुँदैन । ८ हजार वर्षको इतिहासलाई गाँसेर हेर्ने हो भने, उत्पादकशक्तिहरुको कमजोर विकासका कारणले केही हजार वर्ष दास युग टिक्यो । त्यसपछि उत्पादक शक्तिमा विकास भइसकेपछि सामन्तवाद त्यो भन्दा कम टिक्यो । उत्पादकशक्तिको विकासले हर चिजलाई अहिले जुन द्रुततामा लग्यो, यसले पुँजीवादपनि सामन्तवादको उमेरसम्म बाँच्न सक्दैन । सामन्तवादको भन्दा कम आयु हुने देखिन्छ पुँजीवादको । जस्तो की एकातिर साम्राज्यवादले आफूलाई जोगाउनका निमित्त विकसित सबै हतियार, ज्ञान, चेतना, प्रविधि, सञ्चार सबैलाई प्रयोग गरिरहेको छ । अर्कोतिर फेरि उसले नचाहदा नचाहदै पनि आफ्नो नाफाको निम्ति र राज्यव्यवस्थाको रक्षाको निम्ति विकास गरेको प्रविधि, ज्ञान, चेतना र सञ्चारको जो विकास छ, त्यसको आम विश्वका श्रमजीवी मानिसलाई पनि हिजोको भन्दा उनीहरुलाई शक्तिशाली बनाउँदै लगिरहेको छ ।
पुँजीवाद भित्रै छ समाजवादको भ्रुणः
जस्तो महिलामुक्तिको कुरा गरौं, पुँजीवादले वासिङमेसिङ, आधुनिक चुलोहरु नाफा कमाउन बनाएको हो । नाफा कमाउन त उ सफल भयो तर सँगसँगै उसले महिलाहरुमाथि पुरुषहरुले गर्ने गरेको शोषणका विविध रुपहरुलाई कमजोर पार्न पनि सहयोग ग¥यो । त्यसकारण साम्राज्यवाद सँगसँगै त्यसको गर्भभित्र समाजवाद आइरहेको छ । हिजो उसले पुस्तक पढ्न नदिएर पनि उत्पिडित वर्गलाई तल पारेको थियो । आज उसैले विकास गरेको इन्टरनेटको सुविधाको कारणले गर्दा अब सूचना र पुस्तकबाट श्रमिकवर्गलाई अलग राख्छु भन्न सम्भव नै छैन । हिजो उसले समाचारबाट कैद गथ्र्यो । सत्ताले समाचार लिन्थ्यो र उसले जहाँ चाह्यो त्यहाँ मात्रै भन्थ्यो । तर आज उसैको अन्तरर्गत भएको सूचना र सञ्चारको विकासले यस्तो ठाउँमा पु¥याइदियो की हर मान्छेले आफ्नो विचार बोल्न सक्ने भयो । यही हो समाजवादी भु्रण भनेको ।
हजारौं हजार आंशिक र छिटफुट रुपमा भइरहेका क्रान्तिका प्रकृयाहरु जोडिदै जोडिदै संलेषण हुँदै एउटा विश्व क्रान्ति बन्ने न हो । राष्ट्रिय क्रान्ति पनि त्यही हो । हरेक मान्छेसँगका असन्तुष्टिहरु उनीदै उदिनै गएर एउटा निश्चित संगठनमा फेरिएर र क्रान्ति र विद्रोहमा रुपान्तरण हुने हो । त्यसकारणले माक्र्स एंगेल्सले भनेको जो दिशाको कुरा छ त्यो दिशाबाट समाज अलग ‘ट्रयाक’मा हिँडेको छैन । हामीले केही विकास गर्नु परेकोछ अहिले ।
अतिरिक्त मुल्यको सिद्धान्तको थप परिभाषित आवश्यक :
माक्र्सले पुँजी निमार्णको सन्दर्भमा अतिरिक्त मुल्यको सिद्धान्त जे भन्नुभयो , अहिले केही त्यस्ता क्षेत्रहरु थपिएका छन् जहाँ त्यो नियमलाई जस्ताको तस्तै परम्परागत ढंगले लागु गरेर विश्लेषण गर्न मिल्दैन । जस्तै मनोरञ्जनको क्षेत्र । मनोरञ्जन विजनेस बन्यो । खेल विजनेस बन्यो । अब एउटै खेलाडीले कति श्रम गरेर कमाएको मान्ने रु कसलाई शोषण गरेर कमाएको मान्ने रु त्यसकारण अतिरिक्त मुल्यको सिद्धान्तलाई हामीले आज विकास भएका मनोरञ्जन, सञ्चार लगायतका अतिरिक्त श्रम क्षेत्रहरु कसरी परिभाषित गर्छौं रु भन्ने कुरामा हामीले थप विकास गनु जरुरी छ । तर आधारभूत पक्ष अहिलेपनि अतिरिक्त मुल्यको सिद्धान्तकै आधारमा अघि बढेको छ ।
चिनियाँ क्रान्ति एसियाको क्रान्तिको निम्ति मूल पक्ष थियो । रसियाको क्रान्ति विश्वकै निम्ति धरोहरको रुपमा थियो । तर समाजवादी क्रान्तिहरु जति सम्पन्न भए, तिनीहरु चाँही ९ महिनाको शिशु जस्तो थियो । ९ महिनाको शिशु पूर्ण मान्छे भइसकेँ भनेर उठेर हिड्न खोज्छ । तर उ भित्र हाडको परिपक्क विकास भइसकेको हुँदैन र हिँडाईको सन्तुलनको कलामा पर्याप्त विकास भइसकेको हुँदैन । त्यसको कारण उ पटक पटक लड्छ । अहिलेको समाजवादको हार त्यही ९ महिनाको शिशु उठेर हिड्न खोज्दा पटक पटक लडेको जस्तो मान्छु म । किनकी संसारमा समाजवाद नै थिएन पहिला ।
आठ हजार वर्षदेखि समाजमा केवल शोषणमूलक समाज छ । वंशाणुगत रुपमा मानिसहरु शोषणमा अभ्यस्त हुँदै आएका छन् । यस्तो समाजमा माक्र्सवादनै एउटा यस्तो दर्शन भयो जसले पहिलो चोटी राजनैतिक आन्दोलनमा दार्शनिक रुपमा समेत प्रतिपक्षता लिएर आयो । माक्र्सवादको जन्म भन्दा पहिले दार्शनिक रुपमा प्रतिपक्षीय भएको राजनैतिक आन्दोलन थिएन । देशभक्तिपूर्ण आन्दोलन, धर्म युद्ध लगायतका सबै सबै युद्धका दार्शनिक मूल्य उही पुरानै थियो । तर दार्शनिक रुपमा समेत फरक दर्शन लिएर जन्मेको माक्र्सवाद मात्र पुगनपुग पौनो २ सय वर्ष भएको छ । एकातिर आठ हजार वर्षको मानव समाजको तहगत संरचना, जातपात, वर्ग, शोषण र उत्पिडनले व्याप्त समाज छ । आठ हजार वर्षदेखि हर मानिस भित्र शोषणकारी प्राणी छ । अर्कोतिर माक्र्सवाद जर्मन विचारधारा भन्ने माक्र्सको लेखबाट भन्ने हो भने १८४५ बाट सुरु हुन्छ । कम्युनिस्ट घोषणा पत्रबाट सुरु गर्दा १८४८ बाट सुरु हुन्छ । १८४८ बाट अहिले पौनो करिव दुई सय वर्ष भयो । पौनो दुई सय वर्षकोबीचमा संसारको दुईतिहाइ भूभागमा यसले एक पटक क्रान्तिको हुरी चलायो र यो ढल्यो । एकातिर आठ हजार वर्ष राख्नुस्, पुँजीवादलाई चारसय वर्ष राख्नुस्, र अर्कोतिर भर्खरको माक्र्सवाद राख्नुस् । यसरी समग्र मानव इतिहासको वर्गसमाज जन्मेपछिको इतिहास मात्रै हेर्नुहुन्छ भने पनि समाजवादी क्रान्तिहरुको लहर जो चल्यो, १९१७ पछि, करिव ५० वर्षजति , त्यो ५० वर्ष भनेको चाँही आठ हजार वर्षको दाँजोमा के हो भन्यो भने त्यो ९ महिनाको शिशु नै हो ।
त्यसकारणले माओले भने जस्तै हार हुन्छ, फेरी जीत हुन्छ र अन्तिममा जित हुन्छ भने जस्तै हो । धेरै वटा उथल पुथल धेरै वटा हारहरुबाट सिङ्गै मानवजातिले शिक्षा लिने प्रकृयामा नगएसम्म हामी स्थायी प्रकृतिको फेरी नफर्किने समाजवादमा, नगिर्ने, नउल्टिने समाजवादमा पुग्दैनौं । यो नियम नै हो । किन भने बेलायतमा राजतन्त्रको अन्त्यपछि फेरी खोजी खोजी राजा लिएर राखेको हो । त्यसले मुख्यतः मान्छेको चेतना गणतन्त्रमा पुगेको छैन रहेछ भन्ने देखाउँछ । अब जतिसुकै जमिन दिन्छु भने अब कोही मोही किसान बन्न तयार हुँदैन । चीनको मान्छेलाई सिंगो चीनको राजा बनाईदिन्छु, तर कार चढ्न पाउँदैन, हात्ती घोडा चढेर हिड्नु पर्छ भन्यो भने चीनको कुनैपनि युवा राजा बन्न तयार हुँदैन । संस्कृति र संस्कार यसरी निमार्ण हुने युगमा पुग्नु पर्ने हुन्छ ।
समाजवादी संस्कृतिको जन्म पुँजीवादी गर्भबाट हुन्छ । पुँजीवाद भित्रपनि खराब चिज मुल पक्ष हुन्छ तर त्यसभित्र आंशिक चिजहरु चाँही मानवलाई चाहिने चिजहरु हुन्छ । त्यो आंशिक चिज नै समाजवादको अंग बन्छ । यो सँगसँगै हुन्छ । नेतृत्व कसको भन्ने मात्रै हुन्छ । अहिले मान्छेको चेतनामा जो दृतता आएको छ, यो दृतताले हामी के भन्न सक्छौं भने हिजोका भन्दा छिटो छिटो समाजवादतिर समाज जान्छ । तर यसले धेरै वटा उथल पुथल, धेरै वटा ऐतिहासिक शिक्षा, धेरै वटा गल्तिहरु दोहो¥याउनु अनिवार्य छ । सामान्तवाद विरुद्ध पुँजीवादले सुरु गरेको लडाईं अझैसम्म पुरा भएको छैन । फ्रान्सको भेनिसबाट सुरु भएको यो यात्रा आज साँडे चार सय वर्ष हुन लागिसक्यो अझै टुङ्गिएको छैन । कतै कतै फेरि सामन्तवाद फर्किन खोजेको छ । भनेपछि हामी त आठ हजारवर्षलाई पल्टाउन खोजिरहेका छौं ।

http://www.khabardabali.com बाट साभार 

No comments:

Post a Comment