Tuesday, March 1, 2016

नेपाली क्रान्तिको कार्यदिशा- सूर्य सुवेदी‘पथिक’

टुटफुटबाट गुज्रिरहेको माओवादीभित्र फेरि सहकार्य र एकताको प्रयास भइरहेको छ । तर, कार्यदिशाका बारेमा मतभिन्नता छ, मतैक्यता छैन । कार्यदिशाका बारेमा माओवादी आन्दोलनमा के कस्तो बहस भइरहेको छ भन्नेबारेमा एमाओवादी, ड्यास माओवादी र माओवादीका नेताहरु क्रमशः शीतलकुमार, सूर्यप्रकाश सुवेदी र धर्मेन्द्र बास्तोलाका लेखहरु कोशी मासिकले प्रकाशित गरेको छ, सान्दर्भिक भएकाले यहाँ हामीले दिएका छौं– सं
जनयुद्धको जगमा जनविद्रोह हाम्रो पार्टीको मूल फौजी कार्यदिशा हो । एमाओवादीमै रहँदै पालुङ्टार विस्तारित बैठकमा क्रान्तिकारी विचार समूहको तर्फबाट क.किरणले यसलाई पहिलोपटक पेश गर्नुभएको थियो । त्यसपछि यसले निरन्तरता पाइरहेको छ । बौद्ध राष्ट्रिय भेला, सातौ महाधिवेशनमा यो कार्यदिशा थप प्रष्टतासहित अनुमोदित भयो ।
नेकपा–माओवादीको पुनर्गठन पश्चात विप्लव प्रवृत्तिसँग सबैभन्दा ठूलो लडाइँ पनि कार्यदिशा र त्यसको श्रृङ्खलालाई लिएर नै भयो । अन्ततः विप्लव प्रवृत्ति कार्यदिशामा अन्तर देखाएर अलग पनि भयो । हाम्रो पार्टीले पुषमा राष्ट्रिय भेला आयोजना गरी कार्यदिशा माथि उठाईएका प्रश्नहरुको एकपटक पुन सशक्त जवाफ दियो ।
हामीले अन्वेषण गरेको कार्यदिशा नयाँ र मौलिक छतर यसले व्यवहारको कसीमा व्यापक रुपमा परीक्षण गर्न अझै बाँकी छ । व्यवहारमा अझै सत्य प्रमाणित भैनसकेकोले यो परिकल्पना (Hypothesis) गरिएको कार्यदिशा मान्न सकिन्छ । व्यवहारमा प्रमाणित भैसकेपछि मात्र यसले पूर्ण रुपमा वैज्ञानिकता हाँसिल गर्दछ । व्यवहारमा प्रमाणित भनेको नेपालमा कार्यदिशाको मार्गचित्र अनुसार क्रान्ति सम्पन्न गर्नु हो । अहिले हाम्रो पार्टी यही महाअभियानमा लागिपरेको छ ।
हामीलाई नयाँ कार्यदिशा किन चाहियो ?नेपालमा सामन्तवाद, साम्राज्यवाद र दलाल एवम् नोकरशाही पुँजीवादलाई ध्वस्त पारी नयाँ जनवादी राज्यसत्ता निर्माण गर्ने पार्टीको मूल कार्यदिशा हो । यो चिनियाँ क्रान्तिका सन्दर्भमा क.माओले खोज अनुसन्धान गरी प्रतिपादन गर्नुभएको हो । उहाँले नयाँ जनवादी क्रान्तिका लागि गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा पनि अन्वेषण गर्नुभएको हो । हाम्रो पार्टीले नयाँ जनवादको मूल राजनीतिक कार्यदिशालाई स्वीकार गर्दछ तर फौजी कार्यदिशामा भने दीर्घकालीन जनयुद्धको सट्टा ‘जनयुद्धको जगमा जनविद्रोह’को नयाँ फौजी कार्यदिशा अवलम्बन गरेको छ । के यो अन्तरविरोधी कुरा भएन ? किन हामीलाई नितान्त फरक कार्यदिशा प्रतिपादन गर्नुपरेको हो ? यसले हामीलाई कता लगिरहेको छ ?
यसैबीच, माओवादी कित्ताका ६ वटा राजनीतिक पार्टीहरु ‘पार्टी एकता’का लागि अहिले नजिकिएका छन् । एमाओवादी र हाम्रो पार्टीबीच एकता वार्ता कमिटी बनेको र त्यसले ७ बुुँदे कार्यसूची निर्माण गरिसकेको छ । हामीबीच रहेका आधारभुत अन्तरहरुलाई उक्त सात वुँदे कार्यसुचीमा समावेश गरिएको छ । दुई पार्टीबीच मात्र भएको यो छलफलका कार्यसुचिमै माओवादी आन्दोलनभित्रका सवै पक्षका विषय वस्तु समावेश भएका छन् । यो छलफल बढ्दँै जाँदा र यसले सकारात्मक नतिजा निकाल्दै जाँदा क्रमशः माओवादी आन्दोलन पुनः नयाँ आधारमा एकताबद्ध हुँदै जाने निश्चित छ ।
कार्यसुचीमा ७ वटा विषय रहेता पनि यी सबैको केन्द्रमा “वैचारिक राजनीतिक कार्यदिशा” र त्यसले निर्धारण गर्ने कार्यनीतिक श्रृङ्खला नै हो । र वहश पनि सही कार्यदिशामा वढी संकेन्द्रित हुने निश्चित छ । विगतमा पार्टी विभाजन हुँदा पनि कार्यदिशा र त्यसका श्रृङ्खलामा अन्तर आएकाले दुखद परिणाम भएको सर्वविदित्तै छ ।
प्रस्तुत संक्षिप्त टिप्पणी यी र यस्तै प्रश्नहरुको वरिपरि घुम्ने प्रयत्न गरिएको छ ।
समस्याको प्रस्तुति
माओ पछाडि लामो समय व्यतित भैसकेको छ । चीनमा नयाँ जनवादी क्रान्ति भएको पनि ६६ वर्ष पुगिसकेको छ । माओको निधन भएको करिब ४० वर्ष पुग्यो । माओ पछाडि माओलाई अनुशरण गरेर थुप्रै देशमा क्रान्ति सम्पन्न गर्ने कष्टसाध्य प्रयत्नहरु भए । लाखौं लाखको क्रान्तिका क्रममा सहादत भयो तर एउटा पनि क्रान्ति सफल बन्न सकेन । यस बीचमा कम्युनिष्टविरोधी लहर विश्वव्यापी फैलियो । खास गरी सोवियत संघ र पूर्वी यूरोपका “कम्युनिष्ट” सत्ताहरु एकाएक पतन भए पश्चात साम्राज्यवाद विजयी मुद्रामा अझ आक्रमक रुपमा प्रस्तुत भयो । संसार एक ध्रुवीय बन्न पुग्यो । अस्थिर, ढूलमूल “कम्युनिष्ट”हरुले आफूलाई “सुधार” गर्न थाले । क्रान्तिको सिद्धान्त छोडेर संसदवादी र सुधारवादी बन्न पुगे । कतिपयले पार्टी नै विघटन गर्ने, नाम नै परिवर्तन गरी सामाजिक–जनवादी बनाउने र कतिपय त राजनीतिक परिदृश्यबाट पलायन नै हुन पुगे । विश्वव्यापी “दक्षिणपन्थी” हावा फैलियो । यस बीचमा सच्चा क्रान्तिकारीहरुले सिद्धान्तको रक्षा गर्दै माओवादी धारलाई बचाइराखे । केही प्रयत्न पनि भए तर तिनले आशातित सफलता हासिल गर्न सकेन ।
विगतका असफलताबाट कम्युनिष्ट क्रान्तिकारीहरुले गम्भीर पाठ सिक्नै पर्दछ । असफलता अन्यत्र हैन हाम्रो विचार र राजनीतिमा नै खोज्नु पर्दछ र यी सबैको केन्द्रमा “वैचारिक एवम् राजनीतिक कार्यदिशा” रहनु पर्दछ भन्ने स्वतःसिद्ध छ । विगत असफलताबाट सिक्दै क्रान्ति सम्पन्न गर्ने र आन्दोलनमा पैदा भएका दायाँ, वायाँ र मध्यविचलनहरुबाट बचाएर अघि बढ्ने उद्देश्यसहित हाम्रो पार्टीले कार्यदिशासम्बन्धी नयाँ संश्लेषणमा पुगेको हो । यो सही दिशाको सुरुवात मात्र हो ।
जनयुद्धको जगमा जनविद्रोह
विश्वमा नयाँ जनवादी र समाजवादी क्रान्ति गर्न गुरुहरुले प्रतिपादन गर्नुभएको फौजी कार्यदिशा मुख्य गरी तीनवटा रहेका छन् । प्रतिस्पर्धात्मक पुँजीवादको चरणमा माक्र्स–ऐंगेल्सले युरोपव्यापी सशस्त्र विद्रोहको परिकल्पना गर्नुभयो । एउटा मात्र देशमा क्रान्ति सम्पन्न गर्न खोज्दा त्यसले दमन चर्को खेप्ने र असफल बन्ने हुँदा केही देशहरुबाट एकैचोटी सर्वहारावर्गले विद्रोहको सुरुवात गर्नुपर्दछ भन्ने सोच उहाँहरुको थियो । यद्यपी उहाँहरुको सोच अनुसार विद्रोह बन्न सकेन । पेरिस कम्युन अपवाद थियो । पुँजीवाद साम्राज्यवादमा पतन भएपछि लेनिनले एउटै देशमा पनि विद्रोह गर्न सकिन्छ, त्यो सफल र टिक्न पनि सक्छ भन्ने अवधारणा अघि सार्नुभयो । यही कार्यदिशा अनुसार उहाँले रुसमा विद्रोह सफल पारी पहिलो व्यवस्थित कम्युनिष्ट सत्ता स्थापना गर्नुभयो । लेनिनको यही कार्यदिशा “सशस्त्र विद्रोह”को विश्वव्यापी मोडलका रुपमा स्थापित हुन पुग्यो ।
उता माओले पुँजीवादमा प्रवेश गरिनसकेका अर्ध–सामन्ती÷नव औपनिवेशिक मुलुकमा एकैचोटी समाजवादका लागि विद्रोह नभै नयाँ जनवादका लागि दीर्घकालीन जनयुद्धको फौजी कार्यदिशा प्रतिपादन गर्नुभयो । यही लाइन अनुसार उहाँले चीनमा नयाँ जनवादी क्रान्ति समेत सफल बनाउनु भयो । माओको यो कार्यदिशा पनि क्रान्तिको “तेस्रो मोडेल” बन्न पुग्यो । यी कार्यदिशाका सर्वस्वीकार्य मोडेलहरुको अतिरिक्त अन्य कार्यदिशाहरु पनि कम्युनिष्ट क्रान्तिकारीले अबलम्वन गरेका र सफल पनि भएका छन् । क्युवामा फिडेल र चेको नेतृत्वमा छापामार युद्ध र जनविद्रोहको समायोजन गरेर क्रान्ति सम्पन्न गरिएको छ । भियतनाममा सुरुमा जनविद्रोहबाट सत्ता लिएको छ र पछि साम्राज्यवादको विरुद्ध दशकौं छापामार युद्धको प्रक्रियाबाट सत्ता पुनः कब्जा गरिएको छ । त्यस्तै गरी उत्तर–कोरिया, पूर्वी युरोपका देशहरुमा फरक ढंगले सत्ता आएको छ । क्रान्तिको विकास हुन्छ पुनरावृत्ति गर्न सकिन्न । हरेक देशको आफ्नै विशिष्टता हुन्छ । क्रान्तिका सार्वभौम सच्याइहरुलाई देशको विशिष्टतामा लागू गर्दा केही चिज स्वतः विकास भएर मौलिकतामा क्रान्ति सम्पन्न हुन्छन् ।
तर, हामी यी कुनै पनि कार्यदिशाको अनुशरण गर्ने ठाउँमा छैन । विगतमा थुप्रै पार्टीहरुले लेनिन र माओको यान्त्रिक अनुशरण गर्दा गम्भीर असफलता हात लागेको अनुभव र स्वयम् हाम्रो आन्दोलनका सफलता र असफलताको संश्लेषणबाट निकालिएको निष्कर्ष हो ।
कार्यदिशाको अन्तर्वस्तु
नेपाली समाज अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थाबाट लामो समयदेखि गुज्रिदै आइरहेको छ । विश्व साम्राज्यवादको प्रत्यक्ष अप्रत्यक्ष संसर्गबाट देशमा विशिष्ट प्रकारको उत्पादन सम्बन्ध कायम बन्दै गएको छ ।सामन्तवाद सबै क्षेत्रबाट क्रमशः विस्थापित बनिरहेको तर त्यसको ठाउँमा प्रगतिशिल पुँजीवादको सट्टा दलाल एवम् नोकरशाही पुँजीवादले ओगटिरहेको छ । र, यसलाई भारतीय एकाधिकार पुँजीवादसहित विश्व साम्राज्यवादले आड र भरोसा दिइरहेको छ ।
नेपालको विचित्र प्रकारको खिचडी अर्थतन्त्रको प्रतिबिम्ब यहाँको राजनीतिमा प्रष्ट रुपमा मुखरित भएको छ । देखावटी रुपमापुँजीवादी प्रजातन्त्रका केही अवयवहरु विकसित भएका छन् तर राज्यसत्ताको मूल चावी दलालहरु र वाह्य रुपमा दिल्ली दरबार बन्दै गएको छ । खासगरी ०६२–०६३ सालको जनआन्दोलनले राजतन्त्र समाप्त पारिसकेपछि र जनवादी शक्तिहरु विजयी नबन्दा देशमा यस्तो हालत सिर्जना भएको हो ।
त्यस्तैगरी विश्व परिस्थितिमा समेत काफी हेरफेर भएका छन् । साम्राज्यवादले अहिले भूमण्डलीकृत रुप धारण गरेको छ । सूचना संचार, युद्ध टेक्नोलोजीमा अभूतपूर्व विकास भैरहेको छ । सारा संसार एउटा सानो गाउँमा बदलिएको छ । सीमित केही दर्जन बहुराष्ट्रिय कम्पनीहरुले संसारको अधिकांश अर्थतन्त्र कब्जामा पारेका छन् । धनी र गरिबीको खाडल लेनिन र माओको भन्दा कैयौं गुणा बृद्धि भएको छ । साम्राज्यवादले संसारभर आफ्नो प्रभाव बृद्धि गरेको छ । सामन्तवाद इतिहासकै सबभन्दा कमजोर विन्दुमा पुगेको छ । जे जति ऊ टिकेको छ, त्यो साम्राज्यवादसँग लडेर हैन आत्मसमर्पण गरेर मात्र टिकिरहेको छ ।
विश्व र नेपालमा आएका उपरोक्त परिवर्तनले हाम्रो संघर्षका रणनीति र कार्यनीति निर्धारणमा पनि असर स्वतः पारिहाल्दछ । यही कारणले हामीले कार्यदिशामा विकास गर्नुपरेको हो । तसर्थ हामीले रुसी मोडेल अनुसार लामो तयारी गर्दै संघर्षको अन्तिम उत्कर्षको विन्दुमा गएर सशस्त्र विद्रोह गर्ने कार्यदिशा पनि नेपालमा मेल खाँदैन भन्यौं । त्यस्तै गरी सुरुबाटै सैन्य शक्ति र कारबाहीलाई मुख्य बनाएर र मुख्य रुपमा सैन्य शक्तिबाट नै राज्यसत्ता लिने दीर्घकालीन जनयुद्ध पनि अपूर्ण हुन्छ भन्ने निष्कर्ष निकाल्यौं । यी दुवै भन्दा भिन्न ढंगले अबको नेपालमा क्रान्ति सम्पन्न गर्नुपर्छ र हुन्छ भनियो । चिनियाँ र रुसी मोडेलको अनुकरण हैन त्यसभन्दा भिन्न र विकसित कार्यदिशा अबलम्बन गरिनु पर्दछ ।
हाम्रो कार्यदिशाले सुरुबाट नै फौजी संगठन र कारबाहीको पक्षपोषण गर्दछ । तर संगठनलाई भने स–साना इकाईमा विकेन्द्रित रुपमा परिचालनको माग गर्दछ । देशव्यापी जनविद्रोहको सम्भावना पूर्व राजनीतिक संघर्षलाई प्रधान बनाउँदै त्यस मातहत र त्यसको सहयोगीका रुपमा फौजी कारबाही र संगठनलाई परिचालनको माग गर्दछ । जब राजनीतिक संघर्ष विष्फोटक बन्दछ र त्यो जनविद्रोहमा रुपान्तरण हुने सम्भावना देखिन्छ, त्यस बेला फौजी संगठन र कारबाही मुख्य भएर आउँछन् । विकेन्द्रित फौजी इकाईहरु केन्द्रित भएर विशाल नियमित सेना बन्दछन् र संघर्ष पनि आमनेसामनेको मोर्चाबन्दी युद्धमा परिणत हुन्छ । ठीक यही क्षणमा संघर्षका राजनीतिक रुपसहित सबै रुपहरु फौजी संघर्षको मातहत र त्यसको सहयोगीका रुपमा रहन्छन् । र, सशस्त्र जनविद्रोह मार्फत् देशमा राज्यसत्ता जनताले प्राप्त गर्दछन् ।
सत्ताको कोणबाट हेर्दा रुसमा केन्द्रीय सत्ता लिएपछि मात्र स्थानीय सत्तातिर बढेका छन् भने चीनमा स्थानीय सत्ता कब्जा गर्दै केन्द्रीय सत्तातिर पाइला क्रमशः बढाएका छन् । तर हामीले यी दुवैभन्दा भिन्न अवधारणा अघि सारेका छौं । नेपालमा केन्द्रीय सत्ता कब्जापूर्व पनि स्थानीय सत्ताको लामो अभ्यास भएको छ । ती टिकेका, विकास र विस्तार पनि भएका छन् । नेपालको यो विशेषतालाई अवलम्बन गर्दै अघि बढ्न जरुरी छ । । नेपालको अहिलेको चरण केन्द्रीय सत्ताका लागि संघर्षका रुपमा परिभाषित गरिएको छ । यस अर्थमा पार्टीको सम्पूर्ण कामको गूरुत्व र घनत्व सहर बजार र त्यसको तयारीको काम बन्न जान्छ । स्थानीय सत्ता मुख्य बन्न सक्तैन । यी स्थानीय सत्ता केन्द्रीय सत्ता लिने संघर्षका परिपूरक र सहयोगी बन्न पुग्दछन् । भोली राज्यसत्तामाथि जनताको पूर्ण विजयी नबन्ने र सहर र राजधानीबाट पाटी केही समय गाउँमा स्थानान्तरण हुने स्थिति बन्यो भने समानान्तर सत्ता (स्थानीय सत्ता) मुख्य बन्दछन् भने केन्द्रीय सत्ता केवल त्यसवेलाप्रचारात्मक संघर्षको रुप मात्र रहन पुग्दछ ।
हाम्रो पार्टीको कार्यदिशासम्वन्धि संक्षिप्त विष्लेषण पश्चात एमाओवादी र विप्लव प्रवृतिले अंगिकार गरेको कार्यदिशावारे संक्षिप्त चर्चा गर्नु आवश्यक छ ।
एमाओवादीसँगको मतभिन्नता
कार्यदिशाको कोणबाट एमाओवादीसँग हाम्रो काफी अन्तर रहेको छ । खास गरी उनीहरुको हेटौंडामा सम्पन्न महाधिवेशनमा “जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारी” सम्बन्धी अवधारणा ल्याएपछि गुणात्मक फरक देखाप¥यो । उनिहरुले क्रान्तिको सिंगो एक चरण नै पार गरेको अवधारणा ल्याए । अब क्रान्ति सिधै समाजवादका लागि हुने र त्यसैबेला जनवादी क्रान्तिका बाँकी बक्यौता रहेका कामहरु पनि पूरा गर्ने कुरा गरे । देशमा त्यसबेलासम्म आएका उपलब्धिहरुलाई संरक्षण र विकास गर्ने, चुनावमा जाने , सरकारमा जाने र क्रमशः शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवादी क्रान्तिको आधार बनाउने कुरा गरे ।
तर, उनीहरुको विश्लेषण र नेपालको वस्तुगत परिस्थितिमा आकास जमिनको फरक देखियो । खासगरी संविधान सभाको दोस्रो चुनावमा एमाओवादी शर्मनाक ढंगले पराजित भएपछि कार्यदिशामा देखिएको गम्भीर त्रुटी सतहमा छर्लङ्ग देखाप¥यो । अहिले उनीहरु कार्यदिशामा आएको विचलनका बारेमा आत्ममन्थनमा लागेका छन् । इमान्दार मानिसहरु कार्यदिशालाई सच्याउने कोशिसमा छन् भने दक्षिणपन्थी तत्वहरु अझ यसलाई नाङ्गो आत्मसमर्पणवादी कार्यदिशा बनाउन लागिरहेका छन् ।
तत्कालीन कार्यनीतिमा मूल कार्यदिशाको गहिरो छाप परेको हुन्छ । एमाओवादी संविधानसभाबाट “अग्रगामी” संविधान बनाएर “जनवाद” पूरा गर्न चाहन्थ्यो । तर अहिले त्यसको गुन्जायस छैन । अब के गर्ने ? आत्मसमर्पण गर्ने वा संघर्ष ? । एमाओवादी गम्भीर दोसाँधमा उभिएको छ । हाम्रो पार्टीले उनीहरुलाई संघर्षको मूल बाटोमा हिडाउन भगिरथ प्रयत्न गर्नु पर्दछ, गरिरहेको छ ।
विप्लवसँगको मतभिन्नता
विप्लव प्रवृत्ति हामीसँग अलग भएको पनि धेरै समय भैसकेको छ । यस बीचमा उनीहरुले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन समेत सम्पन्न गरिसकेका छन् । तर कार्यदिशाको कोणबाट जुन रहस्य सँगै रहँदा थियो, त्यो अझै रहिरहेको छ । उनीहरुले आफ्नो कार्यदिशालाई “एकीकृत जनक्रान्ति” भन्ने पदावली प्रयोग गरेका छन् । कतिपय प्रसंगमा यसलाई सिद्धान्त समेत भन्न पुगेका छन् । जे होस्, यसको व्याख्या उनीहरुले अझै व्यवस्थित गर्न सकिरहेका छैनन् । जे जति विषय बाहिर ल्याएका छन्, त्यसको अध्ययन गर्दा पनि उनीहरु माक्र्सवादबाट पर हुत्तिने हुन् कि भन्ने देखिन्छ । उनीहरुले गर्ने केही प्रयोग र व्याख्या आइसकेपछि अझ बढी प्रष्ट बन्ला । तर अहिले जे जति विषय बाहिर ल्याएका छन् त्यसबाट विश्लेषण गर्नुपर्ने बाध्यता छ ।
क) नेपाली समाजको विश्लेषणमा उनीहरुमा गम्भीर विचलन देखिएको छ । नेपाल पुँजीवादमा प्रवेश गरेको र त्यसको चरित्र दलाल रहेको उनीहरुको निष्कर्ष छ । “दलाल पुँजीवादी राज्यसत्ता विरुद्ध संघर्ष गरौं” (विप्लव ः यथास्थितिमा क्रमभंगता ः इतिहासको अपरिहार्य आवश्यकता), ( नेकपा–माओवादीका दस्तावेज, पे. ८९, प्रकाशक– आन्तरिक प्रकाशन विभाग, नेकपा–माओवादी, केन्द्रीय समिति)भन्ने उद्घोष गर्न पुग्दछन् । यही विन्दुबाट उनको विचलन सुरु हुन्छ । एमाओवादीले पनि नेपाल पुँजीवादमा प्रवेश गरेको र आगामी क्रान्ति समाजवादी हुने उद्घोष गरेको विश्लेषणसँग विप्लवको मिल्न पुग्दछ । तर उनी क्रान्ति भने जनवादी (नौलो जनवादी होइन)गर्ने कुरा गर्दछन् ।
ख) भारतीय विस्तारवाद भन्न नसक्नु विप्लवको अर्को गम्भीर कमजोरी रहेको छ । उनले भाषा बढो गोलमोटोल प्रयोग गर्दै “भारतीय हस्तक्षेपको नेपाली आयाम” भन्दछन् । यसो किन भन्नुप¥यो ? त्यसको चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् । बरु उल्टो उनी “बाह्य पक्ष क्रान्तिकारी आन्दोलनका लागि निर्णायक नरहने” भन्दै भारतीय विस्तारवादको चाकडी गर्न पुग्दछन् । यी दुई प्रसंगलाई जोडेर हेर्दा उनीहरुमा गम्भीर विचलन देखा पर्दछ ।
ग) प्रहारको निशानामा उनीहरु प्रष्ट छैनन् । सैन्य निर्माण, आधारइलाका, कारबाहीको स्वरुप आदिमा उनीहरु मनोगतवादको शिकार भएका छन् ।
घ) पुरानो सत्ताको ध्वंश होइन, त्योसँग सत्ता साझेदारीको घोर अवसरवादी नीति लिन पुगेका छन् । कम्युनिष्टहरुले पुरानो राज्यसत्ताको ध्वंश र त्यसको ठाउँमा आफ्नो राज्यसत्ताद्वारा प्रतिस्थापना गर्दछन् । तर विप्लवजीहरु केही संघर्षहरु पश्चात एउटा विन्दुमा गएर पुरानो सत्तामा समायोजन हुने विचार खुलेआम राख्दछन् । यो माक्र्सवाद नभएर आत्मसमर्पणवादी दक्षिणपन्थी विचार हो ।
माथिका यी बुँदाहरुको आधारमा विप्लवजीको कार्यदिशामा रहेको अवैज्ञानिकता र अमाक्र्सवादी प्रस्थापना छर्लङ्ग हुन्छ । खुशीको कुरा छोटो समयमै त्यहाँ पनि कार्यदिशामा गम्भीर प्रकृतिको बहस सुरु भएको समाचारहरु बाहिर आएको छ । पार्टीले उनीहरुका गलत प्रस्थापनाका विरुद्ध संघर्ष गर्दै रुपान्तरणसहित पार्टीमा ल्याउन भरमग्दुर प्रयत्न बढाउनु पर्दछ ।
कार्यदिशामा समृद्ध पार्नुपर्ने केही विषयहरु
कार्यदिशाका बारेमा गरिएको संक्षिप्त चर्चाबाट हाम्रो पार्टीले अबलम्बन गरेको फौजी कार्यदिशाबारे पाठकले केही पक्षबारे जानकारी पाइसक्नु भयो । हाम्रो पार्टीले कार्यदिशालाई अझै विकास र समृद्ध पार्नुपर्छ भन्ने अभिमत अघि सारेको छ । यसको लागि केही समय पछि पार्टीले “विशेष राष्ट्रिय महाधिवेशन” आयोजना गर्ने छ । त्यहाँ गएर फौजीकार्यदिशा र मूल कार्यदिशा सहित कतिपय वैचारिक सवालमा पनि विहंगम बहस छलफल आयोजना गरी अझ उन्नत संश्लेषणमा पार्टी पुग्नेछ । निम्न विषयहरु व्यापक छलफल गरी एकरुप वुझाई वनाउन आवश्यक रहेको देखिन्छ ।
क) कार्यदिशा अझ समृद्ध पार्नुपर्ने आवश्यकता छ । खास गरी पार्टीले अघि सारेका कार्यदिशाका अन्तरवस्तु सही छन् । तिनलाई अझ साङ्गोपाङ्गो ऐतिहासिक भौतिकवादी ढंगले संश्लेषण गरिनेमा केही अपुगता छन् । कार्यदिशा प्रचण्डले धोका र बेइमानी गरेपछि त्यसको प्रतिक्रियामा आएको जस्तो बनेको छ । विषय त्यस रुपमा प्रस्तुत गर्नु सही विधि होइन । विश्व र नेपाली वर्गसंघर्षका सबै सकारात्मक र नकारात्मक परिघटनाबाट निकालिएको निष्कर्षमा रुपमा कार्यदिशा हो भन्ने सच्चाइलाई सही तवरले स्थापित गर्नु पर्दछ ।
ख) कार्यदिशाको अन्तर्वस्तु र यसको नामाकरण बीचमा केही अन्तरविरोधी देखिएको छ । नाम अलि बढी सारसंग्रहवाद झल्कने खालको छ । सार अनुरुप नामाकरणमा जोड गर्नुपर्दछ ।
ग) फौजी कार्यदिशाको यस प्रकारको विकासले पार्टीले अबलम्वन गर्दै आएको मूल कार्यदिशाको समेत समृद्धिको प्रश्न स्वतः उठ्दछ । र, हामीले यस क्षेत्रमा केही विकास समेत गरेका छौं । खास गरी नयाँ जनवादको राजनीतिक कार्यक्रममा ‘संघीयता थपिएको छ । केही मौलिक अधिकारहरुलाई स्वीकार गरिएको छ । समानुपातिक एवम् समावेशिता आदि नयाँ सन्दर्भसहित उठाइएको छ । आर्थिक क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको विकासलाई केन्द्रमा राख्दै अहिलेको भूमण्डलीकृत साम्राज्यवादको युगमा वैदेशिक पुँजीलाई कसरी देशको सेवामाप्रयोग गर्ने बहस केन्द्रित भैरहेको छ । रेमिटेन्समा बाँचेको अहिलेको मुलुक नयाँ जनवादमा के गर्ने ? जवाफ अहिलेदेख नै खोजिनु पर्दछ । त्यस्तै गरी संस्कृति, लगायतका सवालहरु पनि माओकालीन भन्दा केही समृद्ध पार्नुपर्ने आवश्यकता महसुस भैरहेको छ ।
घ) माओले पुँजीपतिले अब पुँजीवादी जनवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने र यसको लागि सर्वहाराको नेतृत्व अनिवार्य भन्नुभएको छ । उहाँले त्यसै भएर त्यसलाई पुरानो जनवाद होइन नयाँ पदावली प्रयोग गर्नुभयो । यो सैद्धान्तिक प्रस्थापना ठिक छ । तर माओको उपरोक्त सश्लेषण एउटा खास परिस्थिति मा निर्धारण गर्नुभएको थियो । साम्राज्यवाद र सामन्तवादको पराजय र समाजवादीहरुको विजयी वन्दै गएको काल थियो । दोश्रो विश्वयुद्ध वरिपरीको समय थियो त्यो । वैचारिक रुपले मात्र हैन व्यवहारिक रुपमा समेत पूँजीवाद आफ्नो वास्तविक स्वरुपमा कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था वनेको समय थियो । उस्ले आफू टिक्न समाजवादका थुप्रै अवयव सापटी लिएर चल्नु परिरहेको थियो ।तर आज परिस्थितिमा गुणात्मक फेरवदल आएको छ । यस्लाई ठिक ढंगले संष्लेषण भएकै छैन ।
कम्युनिस्ट क्रान्तिकारीको पहल र नेतृत्वविनानै यसबीच केही मुलुकहरु क्रमशः सामन्तवादबाट पुँजीवादमा बदलिए । खासगरी दक्षिण कोरिया,सिंगापुर, मलेशिया, कतार, कुबेत, साउदी अरबसहित केही एशियाली मुलुक, दक्षिण अफ्रिकासहित केही अफ्रिकी मुलुकहरु ः अर्टेन्टिना, ब्राजिलसहित केही दक्षिण अमेरिकी मुलुकहरुमा एक प्रकारको पुँजीवादी प्रणाली हावी भएको छ । यसलाई कसरी बुझ्ने हो ? हाम्रै छिमेकी देश भारत संसारको १० वटा ठूला अर्थतन्त्रभित्र परिसकेको छ । यसलाई ठिक तवरले संश्लेषण गर्न सक्नु पर्दछ ।
र, अन्त्यमा
“वैचारिक एवम् राजनीतिक कार्यदिशा” को सहीपनाले मात्र क्रान्ति सम्भव छ । कार्यदिशाकै मतभेदका कारण नेपालका माओवादी पार्टी छिन्नभिन्न भएका छन् । देशमा प्रतिक्रियावादी हावी बनेका र क्रान्तिकारीहरु रक्षात्मक अवस्थामा धकेलिएका छन् । यसबाट हामी गम्भीर बन्नै पर्दछ । छिन्नभिन्न भएका क्रान्तिकारीहरुलई एउटै केन्द्रमा ल्याएर नेपाली क्रान्तिका कार्यभार पूरा गर्नु नेपालका माओवादीको प्राथमिक कर्तव्य हो । नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्न हाम्रो पार्टीले संश्लेषित गरेको विचारलाई व्यापक बहसमा लैजानु र त्यसको आधारमा नयाँ पहल सोच्नु पर्दछ ।

http://www.jhilko.com बाट साभार  

No comments:

Post a Comment