Friday, October 19, 2018

के हो बहुलवाद ? (संविधानमा राख्दा हुन्छ के, नराख्दा हुन्छ के ?) - मोहन वैद्य 'किरण

एकथरि साथीहरु बहुलवादलाई संविधानमै समावेश गर्नुपर्छ भनेर आइरहनुभएको छ । हामी त्यसको दृढ विपक्षमा छौं । यो कुरा हामीले विभिन्न माध्यमहरुद्वारा सार्वजनिक गरिरहेकै छौं ।
हामी किन बहुलवादको विपक्षमा छौं त ? यसबारे मैले आफ्ना पूर्वप्रकाशित रचनाहरुमा स्पष्ट पारेको छु तर यस प्रकारको बहस हुन सकेको थिएन । त्यसैले गर्दा म यो बहसको सुरुवात बहुलवाद भनेको के हो भन्ने कुराबाटै गर्न चाहन्छु ।
के हो बहुलवाद ?
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । यसले विश्वको उत्पत्ति र विकास एउटै तत्वबाट होइन, बहुतत्वबाट भएको मान्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्छ ।
बहुलवाद प्राचीन भारतीय दर्शनका साथै प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ, त्यो बहुलवाद नै हो । प्रारम्भिक भौतिकवादमा पनि पृथ्वी, जल, तेज, हावा वा परमाणुहरू जस्ता विभिन्न भौतिक तत्वहरूबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादका केही लक्षणहरू पाइन्छन् । त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहुईश्वरको चर्चा गरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादको कुरा भयो ।
आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको हो । सत्रौं शताब्दीको अन्त्य र १८औं शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दार्शनिक लाइबनित्जले संसार चेतनामय बहुतत्व (monads) बाट बनेको छ भनेका थिए । पछि आएर बहुलवादी दर्शनलाई विकसित गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् ।
बीसौं शताब्दीको सुरुमा उनले यो विश्व एकरूप (universe) हैन, बहुरूप (multiverse) छ भने । पछिल्लो समयमा बहुलवादी दर्शन इङ्ल्यान्डलगायत विश्वका विभिन्न देशमा फैलियो । यसलाई बहुदलीय राजनीतिक व्यवस्थाको दार्शनिक आधारका रूपमा स्थापित गर्ने काम भयो ।
युरो–कम्युनिजमको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार गर्‍यो । अन्ततः बहुलवाद उत्तरआधुनिकतावादी दर्शनको प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही युरो–कम्युनिजम् हुँदै एमालेले बहुलवादलाई अङ्गीकार गर्‍यो । उत्तरआधुनिकतावादको प्रवेशसँगै यहाँ पनि बहुलवाद बहसको विषय बन्न गएको छ ।
संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत् नयाँ संविधान निर्माणको क्रममा छौं । यतिबेला संविधानमै ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने छलफल पनि चलिरहेको छ । हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)ले संविधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसाबले गलत प्रचार पनि गरिएको छ । यसबारे स्पष्ट हुन जरूरी छ ।
अहिले हामी जुन संविधान बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसद्वादी संविधान होइन । अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित अग्रगामी एवम् प्रगतिशील संविधान हो । यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ । यहाँ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जनताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ ।
यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्तैन । यो सबै सामन्तवाद–साम्राज्यवादविरोधी शक्तिहरूको साझा अभिलेख हुनुपर्छ । त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शनलाई निषेध गर्नु ठीक हुँदैन ।
अहिले हामीकहाँ दुईथरि मान्यता र दर्शन मान्ने पक्ष छन्– एउटा, बहुदलीय संसदीय व्यवस्था मान्नेहरू छन्, जसले आफ्नो आस्था तथा आदर्शबमोजिम संविधानमै बहुलवाद राख्न चाहन्छन् र दोस्रो, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद मान्नेहरू छन्, जसले संविधानमा बहुलवाद राख्न चाहँदैनन् ।
बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो । अहिले हामीले के भनेका छौं भने संविधानमा कसैको दर्शनलाई नराखौं । हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो ।
प्रश्न उठ्न सक्छ– संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? हामीले त अरु दलले जस्तो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई संविधानमै राख्नुपर्छ भनेर दाबी गरेका छैनौं । हाम्रो भनाइ संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो ।
आस्थाका सवालमा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ । संविधानको तर्क पनि वैचारिक आस्थाका सवालमा सम्बन्धित सबैलाई व्यक्तिगत स्वतन्त्रता हुनेछ भन्ने नै हो । यसो भनेको अरुको वैचारिक आस्थामा हस्तक्षेप नगर्ने भनेको हो । बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ । हामीले संविधानमा ‘बहुलवाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो । साथै, बहुलवाद कुनै नयाँ र विज्ञानसम्मत दर्शन पनि होइन ।
अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरू बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ । हामी बहुदलीय व्यवस्था मान्छौं । बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादलाई नै मान्नुपर्छ भन्ने हुँदैन । हामीहरूको बीचमा फरकफरक दार्शनिक मान्यता छन् ।
नेपाली काङ्ग्रेस तथा एमालेहरू बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्छन्, हामीहरू द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं । तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं । उनीहरू संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं । सबैले संसदीय बहुदलीय व्यवस्था मान्छन् भने त्यस्तो अवस्थामा पो बहुलवादलाई संविधानमा राख्नु ठिक हुन्छ त । अहिले त त्यस्तो स्थिति होइन ।
संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुवैथरिको उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयुक्त हुन्छ भनेका हौं । संविधानमा ‘बहुलवाद’ राखियो भने हामीलाई मान्य हुनेछैन । हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाब दिने र दबाबमा ‘बहुलवाद’ स्विकार्ने पक्षमा पनि छैनौं ।
बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ । त्यो भ्रम भनेको नेकपा (एमाले) कम्युनिस्ट भएरै पनि बहुलवादको पक्षमा छ तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने हो ।
मैले माथि युरो–कम्युनिजम्का बारेमा कुरा गरेको थिएँ । युरो–कम्युनिजम्ले संसदीय व्यवस्थालाई मानेको छ । त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्विकारेको छ । एमाले त्यही युरो–कम्युनिजम्को नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिस्ट पार्टी होइन । क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्त बहुलवाद भनेको अहिलेसम्म कहींकतै पनि देखिँदैन ।
मैले त माधवजी (माधव नेपाल) सँग पनि कुरा गरें, बहुलवाद के हो भन्नेबारे व्यवहारिक रूपमा बहस गरौं पनि भनें । एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद मान्ने कुरा दुनियाँमा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातालको फरक छ यिनमा । यसर्थ, आफूलाई कम्युनिस्ट पार्टीको दाबी गरे पनि सिद्धान्ततः एमाले कम्युनिस्ट पार्टी नै हैन । बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ ।
बहुदलीय व्यवस्था मान्नुपर्छ भन्नुको अर्थ बहुलवाद र संसद्वाद दुवैलाई मान्नुपर्छ भनेको होइन । यदि कुरा त्यही हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो । यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्छ । त्यसले लोकतन्त्रमा कुनै पनि परिवर्तन र सृजनात्मक विकासको सम्भावना नै देख्दैन ।
हामीले नेपालमा लोकतन्त्रलाई नयाँ ढङ्गले विकास गर्न चाहेका हौं । लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोपलगायतका पूर्वसमाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पुँजीवादी मुलुकहरूमा पनि संसदीय व्यवस्था असफल बन्न पुग्यो । त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरी हटाउँदै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिक रूपमा विकास गर्न चाहन्छौं । ठीक त्यसैले हामी सृजनशीलता र मौलिकताको पक्षमा र सबैखाले यथास्थितिवाद तथा रुढीवादको विरोधमा छौं ।
संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भने माओवादीले भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ ।
हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ, राज्यसत्ताको चरित्र वर्गीय हुन्छ । यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रूपमा ग्रहण गर्छ । ठीक यही कारण के कुरा सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुदलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पुँजीवादी अधिनायकत्व नै हुन्छ । सर्वसत्तावादी कम्युनिस्टहरू होइनन्, बहुलवादका नाममा एकाधिकार पुँजीवादी सैन्यवादको अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन् ।
विविधतामा एकरूपता
नयाँ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचानसहितको नयाँ संस्कृतिको आधार खोज्नुपर्छ । नेपाललाई हामीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भन्ने गरेका छौं । यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरिले नेपालमा बहुलवादी संस्कृति छ भन्छन् । यो गलत कुरा हो ।
नेपाली समाज र संस्कृतिमा विविधता छ, त्यो सत्य हो तर विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरूपता पनि छ । एकातिर विविधताको पाटो छ, अर्कोतिर एकरूपताको पाटो । अहिलेसम्म नेपालमा विविधताको पाटोलाई गौण रूपमा राखेर एकमनावादी एकरूपतालाई बढी स्थान र महत्व दिइयो । खास अर्थमा त्यो सही एकरूपता पनि थिएन ।
जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागु गरियो । सांस्कृतिक एकरूपताका नाममा एक खस भाषा, एक हिन्दू धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो । नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन ।
हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकताको पक्षमा लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौं । हामी नयाँ ढङ्गले राज्यको पुनःसंरचना गर्ने पक्षमा छौं । यसप्रकारको पुनःसंरचना भाषिक, जातीय, क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेको हुन्छ । यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरूले भनेजस्तो सबै विविधता एकअर्कासँग एकदमै पृथक् हुन्छन् भन्ने होइन । त्यो विविधतालाई हामीले एकरूपताले जोड्नुपर्छ ।
माक्र्सवादीहरूले भन्ने गरेको विपरीतहरूको एकत्वको सिद्धान्त यही हो । कसैकसैले हामीलाई विखण्डनवादी भन्छन् । हामी विखण्डनवादी होइनौं, हामी विविधतामा एकरूपता खोज्नेहरू हौं । वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन् किनभने उनीहरु विविधतामा एकरुपता हुन्छ भन्ने नै मान्दैनन् । यसले असलमा को विखण्डनवादी हो भन्ने प्रस्ट हुन्छ ।
नेपाली संस्कृतिमा भएका विविधतालाई एकरूपतामा आबद्ध गर्ने केही तत्व वा सूत्रहरू छन् । तीमध्ये पहिलो सूत्र हो जनवाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लिङ्गका जनताले जनवादको उच्च अभ्यास गर्न पाउँछन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कासँग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न पुग्छन् ।
हामीलाई एकरूपतामा आबद्ध गर्ने दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो चीज हो, जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्छ । राष्ट्रियताका पनि दुई रूप छन्– आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक रष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद/विस्तारवादको प्रतिरोध गर्नुपर्छ । यी दुवैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ ।
यसैगरी विविधतामा एकरूपताको अर्को सूत्र हो वैज्ञानिक चिन्तन । सांस्कृतिक एकरूपताका लागि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीबुढी, अन्धविश्वास, भाग्यवाद, कर्मवादलगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अँगाल्न जरुरी छ । त्यसो भयो भने नै हामी एकअर्काको कदर गरेर जान सक्छौं ।
नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने नयाँ संस्कृति भनेको जनवाद, राष्ट्रियता र वैज्ञानिक चिन्तनमा आधारित संस्कृति नै हो । यही नै विविधतामा एकरूपता हो ।
सांस्कृतिक क्षेत्रमा बहुविधतामा एकरूपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्छ । यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ ।
केही वर्षअघि संगीतश्रोताले मूल्याङ्कन मासिकका लागि वैद्यसँग गरेको कुराकानीको एक अंश । एमाओवादी पहिलो संविधानसभामा हुँदाका बखत  उनीसँग कुराकानी गरिएको थियो- सम्पादक ।
http://esamata.com बाट साभार 

No comments:

Post a Comment