Monday, February 29, 2016

दार्शनिक बहसका ‘कि नोट’ प्रश्नहरू - डम्बर खतिवडा

नेपाली राजनीतिमा दार्शनिक बहसको परम्परा खासै सबल छैन । केही टुटफुट वैचारिक तथा अर्थराजनीतिक चिन्तनलाई नै मानिसले दार्शनिक सवाल ठानिरहेका हुन्छन् । त्यसैका आधारमा आफू विचारवान र अरु विचारहीन भएको आरोप-प्रत्यारोप चलिरहेको हुन्छ । पुँजीवाद र साम्यवाद, नवउदारवाद र मार्क्सवादको वृत्तमा घुमेर निकै ठूलो दार्शनिक ज्ञान राखेको अहंकार पनि प्रदर्शित भइरहेको हुन्छ । वस्तुतः यो पगाहा लगाएको गाईले आफू चरेको क्षेत्रलाई मात्र चरन मैदान देखेजस्तो हो ।
Dambar-Khatiwadaदर्शनको प्रश्न त्यति सजिलो विषय होइन । दर्शनशास्त्रकै बहसमा आउने हो भने त्यो अलिक दुरुह, क्लिष्ट र बोझिलो पनि प्रतीत हुन सक्छ । जनसाधारणका लागि राजनीतिमा दर्शन, विचार वा सिद्धान्तको प्रश्न महत्त्वपूर्ण छैन । जनताले हेर्ने
भनेको कार्यदिशा, नीति तथा कार्यक्रम र कार्यशैली हो । तर, नीति तथा कार्यक्रम सही ढंगले निर्धारण गर्न राजनीतिज्ञ, प्रशासक तथा विषय विज्ञलाई दर्शनको ज्ञान आवश्यक हुन्छ ।
तसर्थ राजनीतिक दलहरूले विचार, दर्शनको बहस चलाउनैपर्छ । तर त्यसलाई बोझिलो, दुरुह र पूर्वाग्रहको रुप दिएर होइन । सरल र स्वाभाविक आवश्यकतामा आधारित भएर यो बहस चल्नुपर्छ । विद्धता छाँट्नका लागि शास्त्रीय बहस गर्ने युग अब सकियो । संसारका सबै असल राजनेतामा दर्शनशास्त्रको थोरबहुत ज्ञान थियो, छ र हुन्छ । तर, दर्शनको ज्ञान आडम्बर र उपदेशको विषय भने बन्नु हुँदैन ।
प्रवर्ग र आयाम
दर्शनशास्त्र एक समष्टिगत विषय हो । यसका पनि अनेक हाँगा छन् । ब्रह्माण्डको उत्पत्ति, विकास र विनाशसम्बन्धी चिन्तन सृष्टि विज्ञानले गर्छ । पदार्थहरूको अस्तित्व, संरचना, रूपान्तरणको अध्ययन तत्त्वशास्त्रले गर्छ । मानव मष्तिष्कको बनोट र ज्ञान प्रक्रियाको अध्ययन ज्ञानमिमांसाले गर्छ । कला, साहित्य, संस्कृति, सिनेमा र संगीतको समीक्षा गर्न सौन्दर्यशास्त्रको सहारा लिइन्छ । विश्लेषण पद्धतिको संस्थापना तर्कशास्त्रले गर्छ । मानव जीवनमा के गर्नु ठीक, के गर्नु बेठीक भनेर मानक निर्धारण गर्ने प्रयासलाई नीतिशास्त्र भनिन्छ ।
मानिसको आत्मिक प्रक्रियाको अध्ययन र साधनालाई अध्यात्म (चैतन्य अनुसन्धान) भन्ने गरिन्छ । यी दर्शनका मुख्य हाँगा हुन् । दर्शनका अनेक उपहाँगा छन् । तर, दर्शनका यी सबै ज्ञानशाखामा दुई कुरालाई ध्यान दिनुपर्ने हुन्छ । प्रवर्ग (क्याटोगरी) र आयाम (डिमेन्सन) । यी दुई चीज पनि काल (टाइम) र दिक (स्पेस)
को सापेक्षतामा हुन्छन् । नेपालमा के एउटा भ्रम छ भने वर्गचिन्तन निकै ठूलो दार्शनिक ज्ञान हो । यथार्थमा वर्ग भनेको आर्थिक प्रवर्ग मात्र हो । दर्शनशास्त्रमा वर्गको भन्दा प्रवर्गको धेरै ठूलो महत्त्व हुन्छ । प्रवर्ग र आयामलाई एकअर्कामा मिसमास गर्दा कैयौं दार्शनिक भ्रम उत्पन्न हुन सक्छन् ।कुनै अस्तित्व वा एकाइभित्र अन्तर्निहित विपरीत तर एकत्व भएका भाव प्रवर्ग हुन् ।
त्यसका पक्ष आयाम हुन् । अस्तित्व एक हुन्छ । प्रवर्ग दुई हुन्छ र आयाम अनेक (तीन वा तीनभन्दा बढी) हुन्छ । अस्तित्वलाई दुई वा अनेकमा, प्रवर्गलाई एक र अनेकमा, आयामलाई एक वा दुईमा बुझियो भने दर्शनको बहस कहिल्यै ठीक ठाउँमा आउँदैन । भन्नेले एउटा कुरा भनिरहेको हुन्छ, सुन्नेले अर्कै कुरा बुझ्दै र खण्डन गर्दै हुन्छ ।
राजनीतिक दलहरूले विचार, दर्शनको बहस चलाउनैपर्छ । तर त्यसलाई बोझिलो, दुरुह र पूर्वाग्रहको रुप दिएर होइन ।
प्रवृत्ति र प्रविधि
दार्शनिक बहसमा हुने अर्को समस्या पदार्थलाई प्रवृत्तिमा, प्रवृत्तिलाई पदार्थका रुपमा बुझ्नु हो । पदार्थभित्रका रहस्य, नियमहरूको ज्ञान र मानव उपयोगी रुपान्तरण नै प्रविधि हो । प्रविधिको विकास स्पाइरल हुन्छ । मानवीय मनोवृत्ति वा चित्तदशालाई प्रवृत्ति भनिन्छ । यो स्पाइरल नभएर इन्टरफेरेन्समा हुन्छ । तर, धेरै मानिस मानवीय मनोवृत्ति पनि स्पाइरल वा लिनियर हुन्छ भन्ने ठान्छन् । पदार्थ र प्रवृत्तिलाई समान नियममा दाँजिरहेका हुन्छन् । मानवीय मनोवृत्तिमा चोर साधु हुन र साधु चोर हुन सम्भव छ । तर प्रविधिमा मान्छे कम्प्युटरबाट टाइपराइटरमा फर्कँदैन । टाइपटाइटरबाट लिथो मेसिनमा फर्कँदैन । कार वा जिप छोडेर बयलगाडातिर फर्कने इच्छा गर्दैन । यसको अर्थ हो कि भौतिक विकास र आत्मिक विकासको नियम समान छैन । मान्छे यी दुवै नियमको बीचबाट हिँडिरहेको हुन्छ । भौतिक प्रश्नलाई आत्मिकजस्तो र आत्मिक प्रश्नलाई भौतिकजस्तो ठानेपछि भ्रम त हुन्छ, हुन्छ ।
अध्यात्मवाद र भौतिकवाद
अध्यात्मवाद र भौतिकवादलाई दर्शनका परस्परविरोधी दुई फरक धार, शत्रुतापूर्ण र निषेधकारी धारका रुपमा बुझ्नु दार्शनिक बहसको अर्को समस्या हो । ईश्वरवाद, कर्मकाण्ड, रुढीवाद, अन्धविश्वास, भाग्यवाद आदि चिजलाई नेपालमा अध्यात्मवादसँग जोडेर हेरिन्छ, जुन बिल्कुलै दार्शनिक अज्ञानता हो ।
अध्यात्मवाद (स्प्रिचुआलिज्म) र आदर्शवाद (आइडियलिज्म) भनेको एउटै कुरा होइन । अध्यात्मवाद र भौतिकवाद भनेको एउटा अस्तित्वका दुई प्रवर्ग हुन् ।
जस्तो कि दिन र रात । मान्छे दिनवादी वा रातवादी हुनै सक्दैन । मान्छे आराम गरेर रातको उपयोग गर्छ, त्यही सञ्चित ऊर्जाका कारण दिनको उज्यालोमा काम गर्दछ । कामबिना आराम वा आरामबिना काम सम्भव हुँदैन । त्यसरी नै अध्यात्म भनेको आफूद्वारा स्वयं आफ्नो चित्तवृत्तिको अध्ययन र उपयोग हो ।
भौतिकता भनेको आफू बाहिरको संसारसँगको अन्तक्रिया  हो । अध्यात्म ज्ञानको अन्तर्मुखी प्रक्रिया हो । भौतिकवाद ज्ञानको बाह्यमुखी प्रक्रिया हो । यी दुवै ज्ञान मान्छेलाई एक साथ चाहिन्छ । अनि, मात्र सन्तुलित र जागरुक मानवको जन्म हुन सक्छ ।
पूर्वीय र पाश्चात्य दर्शन
नेपालमा भौतिकवादी चिन्तन पाश्चात्य जगत्बाट आयो । पाश्चात्य ज्ञान पूर्वीय ज्ञानझैँ गहिरो थिएन । तसर्थ, त्यहाँ अध्यात्मको अर्थ कर्मकाण्डवाद र भौतिकवादको अर्थ ज्ञानविज्ञानको अनुसन्धान लाग्नु स्वाभाविक थियो ।
मार्क्सवादी चिन्तनलाई अन्ध समर्थन गर्दा नेपालमा पनि अध्यात्मवादको अर्थ रुढीवाद भनेर लगाइयो, जो सही थिएन ।
मार्क्सवादले पादरवादी पाण्डित्यवादको खण्डन गर्यो । अनुसन्धान र आविष्कारमा आधारित विज्ञान (भौतिकवाद) को समर्थन गर्यो, त्यो ठीक गर्यो । तर, मार्क्सले पूर्वीय दर्शन र ज्ञान परम्पराको अध्ययन नै गरेका थिएनन् । यो उनको दोष थिएन । पूर्वीय दर्शनका सन्दर्भ स्रोतमा उनको पहुँच नपुग्नु स्वाभाविक थियो । भाषिक कठिनाइ पनि थिए सायद ।
मार्क्ससँग योग, ध्यान, चैतन्य अनुसन्धान (मनोविज्ञान) र बुद्धिजम्को ज्ञान नै थिएन । तसर्थ उनले अध्यात्मको महत्त्व बुझेनन् । उनले नबुझ्नु स्वाभाविक थियो, तर दक्षिण एसियाली मार्क्सवादीले त्यसको अन्धानुकरण गर्नु हुँदैनथ्यो । नेपालमा पूर्वीय दर्शनका सम्पदा र स्रोतलाई प्रतिक्रान्तिकारी विचारका रुपमा चित्रण गर्ने प्रयास गरियो । मार्क्सवादी चिन्तनलाई अन्ध समर्थन गर्दा नेपालमा पनि अध्यात्मवादको अर्थ रुढीवाद भनेर लगाइयो, जो सही थिएन ।
पाश्चात्य चिन्तन विज्ञानको चिन्तन हो । विज्ञानले सुविधा सिर्जना गर्छ । तसर्थ, यो अत्यावश्यक छ । तर, सुविधाले सुःख वा सन्तुष्टि सिर्जना गर्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले हामीलाई ध्यानको विज्ञान पनि चाहिन्छ । त्यसले फरक प्रकारको मौलिक शास्त्र, खुसीशास्त्रको जन्म गराउन मद्दत गर्छ । आत्मक्रान्तिबिना सामाजिक क्रान्ति बलियो र दीगो हुँदैन भन्ने कुरा संसारभरि नै पुष्टि भएको छ ।
निषेध कि गतिशील सन्तुलन ?
मार्क्सवाद द्वन्द्ववादमा एउटा नियम छ- नेगेसन टु नेगेसन । यो नियमको व्याख्या र बुझाइमा निकै समस्या देखिए । विरोधी वा प्रतिस्पर्धीलाई शत्रु वा वर्ग दुश्मनका रुपमा बुझ्ने र निषेध गर्न सकिने निष्कर्ष निकाल्नुको मुख्य कारण यही नियम थियो । यथार्थमा कुनै पनि पदार्थ वा प्रवृत्तिको निषेध सम्भव छैन । पदार्थ वा प्रवृत्ति स्वयं सृष्टिका उपज हुन् । ती एकबाट अर्कोमा निरन्तर रुपान्तरण र परिवर्तन भइरहन्छन् । तसर्थ, संसार निषेधमा होइन, गतिशील सन्तुलनमा क्रियाशील हुन्छ ।
समाज विज्ञानमा वा अर्थराजनीतिमा बारम्बार प्रयोग हुने दुई फरक प्रवर्ग जस्तै, व्यक्तिवाद र समुदायवाद, पुँजीवाद र साम्यवाद, निजत्व र सामाजिकता, श्रम र पुँजी, निजी स्वामित्व र सार्वजनिक स्वामित्व, बजारवाद र समाजवाद, लेफ्ट र डेमोक्रयाट्स यी एकले अर्कालाई कहिल्यै निषेध गर्न सक्दैनन् । मान्छेले निषेध गर्न खोजेर सृष्टिको नियम निषेध हुँदैन । यिनीहरूको रुप र मात्रा परिवर्तन हुन्छ । सामाजिक भूमिकाको स्तर र फैलावको आयतन परिवर्तन हुन्छ । तर, मानव जीवनका लागि दिन र रातझैैं यी दुवै चिज एक साथ अस्तित्वमा हुन्छन् । त्यो नै वास्तविक द्वन्द्ववाद हो ।
सिद्धान्तले मानव जीवनको कुनै एक पाटोको अध्ययन गरिरहेका हुन्छन्, तर मानव जीवनको भोगाई भने समष्टिमा हुन्छ । सिद्धान्त र जीवनबीचको मुख्य अन्तर्विरोध नै यही हो ।
गतिशील सन्तुलनको अर्थ यथास्थिति वा वर्ग समन्वय होइन । बरु परस्परविपरीत र एकत्वमा भएका प्रवर्गबीचको एउटा यस्तो सन्तुलन हो, जसले गति (परिवर्तन वा विकास) लाई पनि रोक्दैन, कसैले कसैलाई निषेध (पूर्ण, अन्तिम अन्त्य) पनि गर्दैन । अर्थात् राजनीतिमा विरोधी विचार र शक्ति शत्रु मात्र होइनन्, ती एक साथ मित्र र प्रतिस्पर्धी पनि हुन् । किनकि नकारात्मक शक्तिको अस्तित्वबिना सकारात्मकको चाहना तीव्र हुँदैन, फलतः गतिशीलता पनि कायम हुँदैन ।
सोभियत संघ वा पूर्वी युरोपको पतन यही दार्शनिक यथार्थलाई बुझ्न नसक्दा भएको थियो । यसको अर्थ हो, आफूलाई द्वन्द्ववादी दाबी गर्नेहरूको व्यवहार साँच्चै द्वन्द्ववादी हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिन्न । मुखले द्वन्द्ववादको कुरा गर्नेहरूले पनि व्यवहारमा एकांकी चिन्तन र व्यवहारलाई समातेका हुन सक्छन् ।
आयाम तीन होइन, अनेक छन्
सामान्यतः त्रिआंगिक सिद्धान्तको अभ्यास त्रिआयामी चिन्तनबाट बनेको हो । तर, आयाम तीन मात्र हुँदैन । सिक्का दुई पाटा हुन्छ गाई (हेड) र त्रिशूल (टेल) । डाइसको गोटी छ पाटा हुन्छ । कुन सत्य हो ? दुवै सत्य हुन् । मानव जीवन स्वयं बहुआयामिक छ । यौन, अहं, धन, शक्ति, ज्ञान आदि अनेक भाव मानिस जीवनमा एक साथ हुन्छन् । मार्क्सवादीले यौनको चाहना नराख्ने वा फ्राइडवादीले धनको चाहना नराख्ने भन्ने हुँदैन । मार्क्सवादी यौनबिनै जन्मन र फ्राइडवादी भात नै नखाई यौनक्रिया मात्र गरेर बाँच्न सक्दैन ।
यसको अर्थ हो, सिद्धान्तले मानव जीवनको कुनै एक पाटोको अध्ययन गरिरहेका हुन्छन्, तर मानव जीवनको भोगाई भने समष्टिमा हुन्छ । सिद्धान्त र जीवनबीचको मुख्य अन्तर्विरोध नै यही हो ।
त्यसैले सिद्धान्तभन्दा जीवन जहिल्यै महत्त्वपूर्ण हो । सिद्धान्त त्रिआंगिक नै बनाउनुपर्छ भन्ने छैन । सिद्धान्त चातुरांगिक, पाञ्चांगिक, षाष्ठागिंक, साप्तांगिक वा आष्ठागिंक पनि हुन सक्छ । सिद्धान्त सृष्टि र जीवनको सम्बन्धलाई बुझ्ने प्रयास हो । जतिधेरै बुझ्न सकिन्छ, त्यति धेरै सिद्धान्त विकसित हुन्छ । तसर्थ कुनै एउटा कालखण्डमा बनाएको सिद्धान्तमा सधैँभरि लड्किरहनु पर्छ, अलिकति तलमाथि हुनेबित्तिकै अनैतिक हुइन्छ भन्ने सोच जड नैतिकतावादी सोच हो ।
पाञ्चांगिक सिद्धान्तको अर्थ
यतिखेर केही मान्छे नयाँ शक्तिलाई सिद्धान्तहीन भएको आरोप लगाउँदै छन्, तर नयाँ शक्तिभित्रको बहस र प्रयास भने फरक छ । नयाँ शक्ति त्रिआंगिकबाट फड्को मारेर पाञ्चागिक सिद्धान्त निर्माणको प्रयास गरिरहेको छ । यही नै अन्तिम सत्य हो भन्ने छैन । अझ बढी सिर्जनशील मान्छेहरू आउँछन् र सिद्धान्तलाई अझ बढी मानव उपयोगी बनाउँछन् भने त्यसलाई सधैँ स्वागत छ ।
कार्यदिशाका हिसाबले नयाँ शक्ति लेफ्ट-डेमोक्र्याट हुनेछ । राजनीतिक रुपमा यो पनि एक दार्शनिक निष्कर्ष नै हो । यसको अर्थ एकदमै सरल छ, यो सारमा प्रगतिशील हुने छ, रुपमा पूर्ण लोकतान्त्रिक हुनेछ
एक- यसमा कुनै शंका छैन कि नयाँ शक्ति द्वन्द्वात्मक भौतिकवादी नै हुनेछ, तर कुनै खास व्यक्ति वा दार्शनिकले निर्माण गरेको सेट थेओरीमा आधारित भएर होइन । नेपालको विशिष्टता, पूर्वीय दर्शनमा भएको चैतन्य अनुसन्धानको प्रक्रिया, विज्ञानमा भएका नयाँ आष्विकारको समेत जगमा उभिएर द्वन्द्वात्मक भौतिकवादको समृद्धीकरण गर्नुपर्छ ।
दुई- त्यसको एउटा समाजशास्त्र हुन्छ, जसले वर्ग र सामाजिक तप्काहरूको उत्थान र पुनरोत्थान कसरी भइरहेको छ भन्ने प्रश्नलाई पछिल्ला आयामसहित हेर्ने छ ।
जाति, भाषा, धर्म , संस्कृति, इतिहास, परम्परा, पहिचान, सभ्यता र राष्ट्रियताको निर्माण, पुनर्निर्माण प्रक्रियामा नयाँ आयाम थप्ने प्रयास गर्ने छ ।
तीन- त्यसको एउटा राजनीतिशास्त्र हुन्छ, जसले लोकतन्त्रको अझ बढी विकासको प्रयास गर्छ, प्रतिनिधिमूलक वा कम्युुन वा सोभियत लोकतन्त्रका बदलामा सहभागितामूलक लोकतन्त्रको पैरवी गर्छ । लोकतन्त्रको एउटा नयाँ, फरक अझ आधुनिक र समृद्ध ढाँचा निर्माणको प्रयास गर्नेछ । त्यसमा लोकतन्त्रका आजसम्म विकास भएका अनेक ढाँचाका असल पक्ष संश्लेषित भएका हुनेछन् । साथै थुप्रै नयाँ आयाम थप्ने प्रयास हुनेछन् ।
चार- त्यसको एउटा अर्थशास्त्र हुन्छ, जसले श्रम र पुँजीबीच निषेध होइन, गतिशील सन्तुलनको खोजी गर्नेछ, बजार र राज्यको भूमिकाबीच निषेध होइन, गतिशील सन्तुलन खोज्ने छ । त्यसले श्रमलाई शोषित हुन पनि दिने छैन, तर तथाकथित श्रमवादका नाममा पुँजीको वृद्धि र विकासलाई पनि रोक्नेछैन, अर्थतन्त्रको गतिशील चरित्रलाई पनि व्यवधान गर्ने छैन । त्यसले बजार-समाजवादको बाटो अवलम्बन गर्छ । त्यसले देशको विकास, सुशासन र समृद्धिलाई उच्च महत्त्व दिएर नीति तथा कार्यक्रम बनाउँछ ।
पाँच- त्यसको एउटा भिन्नै खुसीशास्त्र, मनोविज्ञानशास्त्र हुन्छ । जसले ‘ह्युमन ह्यापिनेस’ को रहस्य बुझ्न र प्रवर्द्धन गर्न मद्दत गर्छ । यस प्रक्रियामा योग, ध्यान, दान, करुणा, मनोक्रान्तिजस्ता पूर्वीय दर्शनका सम्पदालाई उपयोग गर्ने प्रयास गरिनेछन् । कैयौं मनोवैज्ञानिक विश्लेषण पद्धति, सम्पदा र संस्कृति यस प्रक्रियामा सामेल हुनेछन् । सन्तुलित व्यक्तिगत जीवन निर्माण गर्न यस प्रक्रियाले मद्दत गर्ने छ । अधिकांश मानिसले सन्तुलित जीवन पद्धति अपनाउन सकेमा सामाजिक जीवनपद्धति पनि सम्यक हुँदै जानेछ । उच्च नैतिक मूल्य र सदाचार प्रवर्द्धन गर्ने प्रयासमा सिद्धान्तको यो शाखाले मद्दत गर्नेछ ।
लेफ्ट-डेमोक्र्याट कार्यदिशाका हिसाबले नयाँ शक्ति लेफ्ट-डेमोक्र्याट हुनेछ । राजनीतिक रुपमा यो पनि एक दार्शनिक निष्कर्ष नै हो । यसको अर्थ एकदमै सरल छ, यो सारमा प्रगतिशील हुने छ, रुपमा पूर्ण लोकतान्त्रिक हुनेछ ।
लेफ्ट- डेमोक्र्याट
हुनु नयाँ शक्तिका लागि दुई खुट्टाको यात्रा हो । लेफ्ट मात्र भएर देब्रे खुट्टाले मात्र हिँड्न सक्दैन । डेमोक्र्याट मात्र भएर दाइने खुट्टाले मात्र हिँड्न सकिँदैन । हिँडे पनि त्यो एकांकी हिँडाइ हुन्छ । दुई खुट्टाको गतिशील सन्तुलनमा हिँड्ने प्रयासले नै यात्रा अगाडिको हुने छ । यतिखेर अगाडि भनेकै विकास, सुशासन, समृद्धि र मानवीय खुसी हो । त्यसको आधार स्वाधीनता, समावेशिता र सदाचारबाट निर्मित हुने छ ।
अन्त्यमा
स्वयं सृष्टिजस्तै मान्छे गतिशील प्राणी हो । जति नै जान्ने, ज्ञानी र अध्ययनशील मान्छेका पनि ज्ञानका सीमा हुन्छन् । मान्छे विशेषज्ञ हुन सक्छ, तर सर्वज्ञ हुन सक्दैन । आफूलाई सर्वज्ञ ठानेर अरुलाई केही पनि नजानेजस्तो देखाउनु नेपाली राजनीतिको सनातन धर्म हो । त्यो परम्परालाई धान्नेहरूले कुनै गतिलो काम गरेको मान्न सकिन्न ।
नयाँ शक्तिमा जे जति मान्छे लागेका छन् वा लग्दै छन, सबै मुर्ख भएर लागेका होइनन् । उनीहरूसँग पनि ज्ञान र अध्ययनको आफ्नै अनुभव छ । अझ धेरै ज्ञान, विज्ञानले ओतप्रोत भएका साथी हुनुहुन्छ भने बाँड्नुस् आफ्नो ज्ञान, ध्यानले सुनौला । कुरा र योजनामा दम छ भने आफ्ना कुरा स्थगित गरौँला, तपाईंहरूकै कुरा मानौँला । कुनै पनि सिर्जनशील प्रक्रियामा नआउने, केवल प्रतिशोधपूर्ण टिप्पणी मात्र गरिरहने हो भने त्यो पूर्वाग्रह बन्न पुग्छ, त्यसको कुनै उपचार हुन सक्दैन ।
फेरि एकपटक दोहोर्याउन चाहन्छु, कुनै अमूक समयमा कुनै अमूक दार्शनिकले यसो भनेको थिए, त्यसबाट च्युत भइयो भने अनैतिक हुन्छ भन्ने चिन्तन जड नैतिकतावादी चिन्तन हो, जो जानेर वा नजानेर गति, परिवर्तन र विकासको विरुद्धमा हुन पुग्दछ ।
http://www.onlinekhabar.com बाट साभार 

No comments:

Post a Comment