Wednesday, November 2, 2016

के हो समाजवाद, किन ढल्यो समाजवाद ? - श्याम श्रेष्ठ

जब सोभियत संघमा समाजवाद ढल्यो, विश्वका थुप्रै पुँजीवादी देशमा समेत सामाजिक अधिकारका कयौं हकहरु छिनियो ।
विश्वमा यतिबेला पनि पुँजीवाद निकै बलियो छ । बलियो बनेपनि पुँजीवादको प्रमुख शत्रु समाजवाद नै भएको छ । आज पनि पुँजीवादको दुश्मन छ भने त्यो समाजवाद छ । पुँजीवादीहरु कोहीसँग डराएका छन् भने त्यो समाजवादसँग डराएका छन् ।
अहिले पनि समाजवाद पुँजीवादीहरुका लागि ठूलो खतरा बनेर उभिएको छ । समाजवाद अहिले हारेको अवस्थामा छ । समाजवाद पराजयको स्थितिमा रहेको भएपनि पुँजीवाद समाजवादबाट त्राहीमाम छ ।
जतिखेर विश्वमा समाजवाद आएको थिएन, त्यो बेला महिलाहरुलाई भोट दिने अधिकार थिएन । मजदुरहरुको काम गर्ने समय निकै लामो थियो । सामाजिक सुरक्षा जनताका लागि पहुँचमा थिएन । त्यो बेला न स्वास्थ्यको अधिकार थियो, न त रोजगारीको थियो । केही पनि थिएन । समाजवाद आइसकेपछि पुँजीवादीहरुले समाजवादबाट कयौं कुराहरु लिन बाध्य भए ।
%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b5%e0%a4%be%e0%a4%a6-2220000
जस्तो कि रोजगारीको हक दिने कुरा । स्वास्थ्यको हक दिने कुरा । शिक्षामा हक दिने कुरा । महिलालाई भोटिङ राइट दिने कुरा । स्वीजरल्याण्डमा त सन् १९७१ मा मात्र महिलाहरुलाई भोटिङ राइट दिइएको थियो । समाजवाद आएको धेरै वर्षपछि विश्वमा समाजवादको खतरा आफुहरुलाई महसुश भइसकेपछि पुँजीवादीहरुले सामाजिक अधिकार दिन थालेका हुन् ।
बेलायतले त समाजवाद आएको धेरै वर्षपछि मात्र यी अधिकारहरु दिएको हो । जो कुरा उनीहरु (बेलायती पुँजीवादीहरु)ले आफ्नो डकुमेन्टमा उल्लेख गरेका छन् । पुँजीवादी देशहरुले जनतालाई स्वास्थ्यसम्वन्धी हक दिनु पर्ने, रोजगारीसम्वन्धी हक दिनु पर्ने, शिक्षामा हक दिनु पर्ने बाध्यता समाजवादले पैदा गरिदियो ।
जब सोभियत संघमा समाजवाद ढल्यो, सामाजिक अधिकारका कयौं हकहरु छिनियो । त्यसको पहिलो प्रभाव बेलायतमा देखियो । जहाँ सामाजिक अधिकारका मुल्य–मान्यताहरुलाई छिन्ने काम गरियो ।
तर सत्य के हो भने पुँजीवादीहरुले समाजवादका नीतिहरुलाई आफ्नो देशमा लागु गर्नै पर्ने अवस्था सिर्जना भयो । खासगरी परिवर्तनका लागि समाजवादले पुँजीवादीहरुलाई समेत धकेल्न बाध्य बनायो ।
समाजवादले संसारभरका गरिखाने वर्गलाई तिमीहरु संगठिन होऊ । तिमीहरुको राज्य आउँछ । तिमीहरु संघर्ष गर्न तयार होऊ । तिमीहरुको राज्य आउँछ भनेर गरिखाने वर्गलार्इ पहिलाेपटक संगठित गर्याे । इतिहासमा के हुने गरेको छ भने कहिलेकाही युद्ध जितिन्छ, कहिले हारिन्छ । पुँजीवादी देशहरुमा पनि त्यस्तो हुने गरेको छ । यस्तो बेला आउँछ, जुन बेला समाजवाद आउँछ ।
अहिले पनि समाजवादको युग, समाजवादको सान्दर्भिकता घटेको छैन भन्ने कुरा अक्टोबर समाजवादी क्रान्तिले देखाएको छ । समाजवाद ढल्नेबित्तिकै सोभियत संघमा कति ठूलो फरक आयो भने जहाँ कि समाजवाद हुँदा रुसमा महिलाहरु सबैभन्दा बढी पार्लियामेन्टमा थिए । सत्ताका विभिन्न अंगमा महिलाहरुको निकै प्रभावशाली सहभागिता थियो ।
जतिबेला रुसमा समाजवाद ढल्यो त्यसको प्रभाव रुसमै देखा पर्यो । जहाँ अहिले असाध्यै न्युन रुपमा महिलाहरु संसदमा रहेको अवस्था छ । महिलाहरुलाई त्यतिसाह्रो फरक पार्दो रहेछ समाजवादले ।
उत्पादनमा सबै हिसाबले अमेरिकालाई टक्कर दिन सक्ने रुस थियो त्यो बेला, जतिबेला समाजवाद थियो । समाजवाद ढल्ने बित्तिकै अमेरिकालाई टक्कर दिेने देश अहिले चीन भएको छ, रुस होइन । वास्तवमा समाजवाद ढल्नुले कति फरक पार्दोरहेछ भन्ने कुराको यो सामान्य उदाहरण हो । यसले पनि के देखाउछ भने समाजवादको महत्व निकै माथि रहेको देखाउँछ ।
अहिले पनि समाजवादको महत्व घटेको छैन । पुँ्जीवादीहरुले केही हल्ला मच्चाएका छन् । अहिले पनि पुँजीवादीहरु कोहीसँग डराउछन् भने समाजवादसँग डराउँछन् । अहिले पनि उनीहरुको कोही शत्रु छ भने त्यो समाजवादीहरु नै भएका छन् ।
समाजवादमा यस्ता रहे कमजोरीहरु
रुसमा ९९ वर्षअघि समाजवादी क्रान्ति भएको समयपछि आज आउँदा समाजवादी व्यवस्था लागू गर्दा भएका केही कमजोरी र गल्तीहरुप्रति कम्युनिस्टहरुले पनि केही पाठहरु सिक्नु पर्ने भएको छ । समाजवाद ढल्नुमा मुख्य चार पाँच वटा कमजोरीहरु रहेको देखा पर्छ ।
पहिलो कमजोरी थियो, समाजवादले राज्यसत्ता त हातमा लियो । तर त्यसले व्युरोक्रेसीहरुलाई निकै बलियो बनायो । पार्टीलाई बलियो बनायो । तर, जनतालाई शक्तिशाली बनाएन । अनि जनताले भित्रभित्रै शक्तिहिन भएको महसुश गर्न थाले । यो नै समाजवाद ढल्नुको पहिलो कमजोरी थियो ।
दोस्रो कमजोरी थियो, सोभियत रुसमा कम्युस्टिहरुले ठूलो राजनीतिक क्रान्ति त गरे तर आफुहरुलाई रुपान्तरण गर्ने सांस्कृतिक क्रान्ति गरेनन् । राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण धेरै हदसम्म गरे । तर सांस्कृतिक क्रान्तिमा जोड दिएनन् । बदलिएको राजनीतिक व्यवस्था र नबदलिएको बानी व्यहोरा र संस्कृतिबीच अन्तरविरोध पैदा हुन पुग्यो । बानी–व्यहोरा भनेको लामो समयसम्म रहने रहेछ । व्यवस्था नयाँ छ तर बानी व्यहोरा पूरानो छ । जसले अन्तरविरोध पैदा भयो । रुसको सोभियत समाजवादी देशमा यो दोस्रो कमजोरी रहन पुग्यो । यसले पनि समाजवादलाई कमजोर बनाउन पुग्यो ।
तेस्रो कारण । सेनालाई बलियो र झन् शक्तिशाली बनाइयो । लेनिनको कुरा के थियो भने सेनामा सबै जनतालाई सैन्यकरण गर्ने र सेनाको आकारलाई सानो बनाए जाने भन्ने थियो । तर लेनिनको निधनपछि उल्टो बाटो समाइयो । जनतालाई सैन्यकरण गरिएन, सेनालाई झन् शक्तिशाली र बलियो बनाइयो । त्यो गलत बाटो थियो । जसले गर्दा समाजवाद ढल्न पुग्यो ।
चौथो कारण । पुँजीवादीहरुले त समाजवादीहरुलाई एक्लो पार्न घेर्दारहेछन् । जो उनीहरुको धर्म नै भइहाल्यो । पुँजीवादीहरुले अत्याधुनिक ज्ञान–विज्ञानको क्षेत्रबाट सिद्धान्तको विकास गर्दारहेछन् । तर हामी कम्युनिस्टहरुको ज्ञान–विज्ञान एकातिर, समाजवादको सिद्धान्त अर्कोतिर भयो । ज्ञान–विज्ञानको क्षेत्रबाट समाजवादको विकास गर्न सकेनौं । लेनिनको जीवनकालसम्म समाजवादको सिद्धान्तको विकास भएको देखिन्छ । स्टालिनको पालामा आउँदा त्यो रोकिएको देखिन्छ । यो पनि ठूलो गल्ती थियो ।
पाँर्चौ गल्ती भनेको स्टालिनको पालामा अलि बढी तानाशाहीजस्तो शासन देखा पर्यो । त्यो बेला पार्टीको एउटा सानो कोटरी शक्तिशाली भयो । बाँकी अरु सबै शक्तिहिन भए । यी कारणहरु थिए, जसले रुसमा समाजवादी सत्ता ढल्न पुगेको हो । आजका हामी कम्युनिस्टहरुले यी कमजोरीलाई सच्चाएर समाजवादका उपलव्धि र सीमाबारे गंभीर रुपमा बहस गर्नु भएको छ ।
जनपाटीसँगको कुराकानीमा आधारित
http://www.janapati.com बाट साभार 

No comments:

Post a Comment